लुम्बिनी भ्रमणमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन

लुम्बिनी । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन् ।

भ्रमणमा रहेका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले बिहीबार स्वागत गरेका छन् । कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भीम बस्नेत र अन्य वरिष्ठ अधिकारीहरूको पनि रमनको स्वागतमा उपस्थित रहेका थिए ।

भ्रमणको क्रममा जनरल रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन् । उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपल रुख अवलोकनका लागि पुगेका थिए ।

भ्रमण अवसरमा सदस्य सचिव श्रेष्ठले जनरल रमनलाई बुद्धको मूर्ति उपहारमा प्रदान गरेका छन् । उपहार प्रदान गर्दै श्रेष्ठले नेपालको सांस्कृतिक र धार्मिक सम्पदाप्रति सम्मान प्रकट गरेका छन् ।

भ्रमणका क्रममा सदस्य सचिवले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे विस्तृत जानकारी दिएका थिए । उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे पनि चर्चा गरेका छन् ।

जनरल रमनले पनि भारतीय पक्षको दृष्टिकोणबाट लुम्बिनीको महत्व, सांस्कृतिक आदान–प्रदान, र द्विपक्षीय सहयोगका अवसरहरूमा आफ्नो दृष्टिकोण राखेका छन् ।

कार्यक्रमको दौरान दुवै पक्षले लुम्बिनीको सांस्कृतिक धरोहरको संरक्षण, पर्यटन प्रवर्द्धन र लुम्बिनीलाई विश्वभरि सांस्कृतिक र धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्नका लागि दीर्घकालीन योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

लेफ्टिनेन्ट जनरल रमनको यो भ्रमणले नेपालको सांस्कृतिक पर्यटन, धार्मिक महत्व र द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

भारत–नेपालबीचको ऐतिहासिक सम्बन्ध र आपसी विश्वासलाई अझ बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउने कार्यकारी सदस्य रोक्काले बताए ।

Published : Thursday, 2026 January 8, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया