महाधिवेशन र चुनाव केन्द्रित रणनीति बनाउन कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको भेला, उपस्थित हुन आग्रह

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसको १५औं महधिवेशन र आमनिर्वाचनका विषयमा रणनीति तयारीका विषयमा छलफल गर्न पुस २७ गते भेला राखेको छ ।

बिहीबार कांग्रेसको पार्टी कार्यालय, सानेपामा बसेको तरुण दलका केन्द्रीय कार्यसमितिको आकस्मिक अनौपचारिक बैठकले पुस २७ गते बिहान ११ः३० बजे पार्टीको सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको संयुक्त ‘महाधिवेशन एवं आमचुनाव केन्द्रित भेला’ गर्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले बताए । भेला पुस २७ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ११ः३० बजे हुनेछ । बैठकमा काठमाडौंमा उपस्थिति तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले पारित गरेको २०८३ साल वैशाख २८, २९, ३० र ३१ गते सम्पन्न हुने १५ औं महाधिवेशन र फागुन २१ को आमचुनावलाई सफल बनाउन रणनीति तयार गर्ने विषयमा तरुण दलको बैठक केन्द्रित भएको छ ।

पुस २७ गतेको भेलामा नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघसहित शुभेच्छुक संस्थाहरूको संयुक्त सहभागिता रहनेछ । भेला आयोजनाको संयोजन तरुण दलले गर्नेछ ।

भेलामा सहभागी हुन तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला कार्यसमितिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताए ।

Published : Thursday, 2026 January 8, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया