कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय
पुस २४, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । आजको बैठकमा कार्यवाहक सभापतिले प्रस्ताव प्रस्तुत गर्नु भएको
थियो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।
निर्णय
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवशाली धरोहर हो । आज पनि नेपाली कांग्रेस नै देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति हो र यसले आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने जिम्मेवारी बोकेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मिति २०८२ असोज २९ गते पार्टीका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विधान बमोजिम समयमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन माग भए अनुसार सो सम्बन्धमा केन्द्रीय कार्यसमितिमा व्यापक छलफल गरी मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका सर्वसम्मतिबाट पारित गरि नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम महाधिवेशनको आवश्यक प्रकृया अघि वढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ ।
मिति २०८२ मंसिर १५ गतेको महाधिवेशनको कार्यतालिका २०८२ पौष १८ गतेको कार्यसम्पादन समितिको बैठकले शंसोधन गरि १५ औं महाधिवेशन मिति (वैशाख २८–३१, २०८३) तोकिसकेको छ । तसर्थ, पार्टीको विधान अनुसार १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रकृया अघि वढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आव्हान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन । साथै, वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन । यस कार्यले पार्टीलाई विभाजन तर्फ लैजान सक्छ । साथै, विशेष महााधिवेशनको मांगलाई अगाडि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्नेछ । साथै, देश अस्थिरतातर्फ धकेलिने सम्भावनालाई हृदयंगम गर्दै कांग्रेसले एकताबद्ध भएर आम निर्वाचनको तयारीमा जुट्नु आजको आवश्यकता हो । अहिले २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सम्बन्धी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरि उम्मेदवारी दर्ता गरिसकेको अवस्था, राष्ट्रिय सभा सदस्यको निर्वाचन लगायतका काममा पार्टी केन्द्रीत रहेको छ ।
निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै खाले सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिन्छ । देश, लोकतन्त्रलाई थप मजवुत बनाई आर्थिक समृद्धिको दिशामा अग्रसर बनाउने दृष्टिकोण वैचारिक रुपमा दृढ संकल्पका साथ जनसमक्ष प्रस्तुत गर्नु पर्नेछ, आम निर्वाचन मार्फत् जन अनुमोदन प्राप्त गर्न सकिन्छ र गर्नुपर्ने नै हुन्छ ।
विद्यमान परिस्थितिमा, पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु हामी सबैको साझा जिम्मेवारी हो । नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ । तर हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्नेछ । तसर्थ, विशेष महाधिवेशन भनि बोलाइएको भेला तत्काल रोक्न अपील गर्ने यो बैठक निर्णय गर्दछ ।
साथै, थप स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यहरुलाई नभै केबल पार्टीको केन्द्रीय समितिलाई मात्र रहेकोछ । तसर्थ, पदाधिकारी वा सदस्यहरुद्वारा व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवशेनका नाममा गरिने कुनै पनि गतिविधि विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई यो बैठक अपिल गर्ने निर्णय गर्दछ ।
बैठकमा धारणा व्यक्त
आजको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुरले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया