कांग्रेसद्वारा नरम भाषामा गगन–विश्वलाई अपीलसहित सुध्रिन चेतावनी, कडा कदम चाल्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको भन्दै व्यक्ति वा पदाधिकारीलाई नरहेको जनाएको छ ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले व्यक्तिगत रुपमा कुनै सदस्यहरू वा पदाधिकारीहरूबाट विशेष महाधिवेशन बोलाउने अधिकार विधानले नदिएको निर्णय गरेको हो ।

कांग्रेसले नरम धम्कीको भाषामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पदाधिकारीको नाममा व्यक्तिगत रुपमा आह्वान गरिएको विशेष महाधिवेशन रोक्न निर्देशन दिएको छ । कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई कुटनीतिक शब्दमा सुध्रिन सचेत गराएको छ । अन्यथा महामन्त्रीद्वय थापा र शर्माविरुद्ध कांग्रेसले अनुशासनको कडा कदम चाल्न सक्ने संकेत गरेको छ ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘थप स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यहरूलाई नभै केबल पार्टीको केन्द्रीय समितिलाई मात्र रहेको छ ।’

‘पदाधिकारी वा सदस्यहरूद्वारा व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवशेनका नाममा गरिने कुनै पनि गतिविधि विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई यो बैठक अपील गर्ने निर्णय गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्नेछ । विशेष महाधिवेशन भनि बोलाइएको भेला तत्काल रोक्न अपील गर्ने यो बैठक निर्णय गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मिति २०८२ असोज २९ गते पार्टीका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विधान बमोजिम समयमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन माग भए अनुसार सो सम्बन्धमा केन्द्रीय कार्यसमितिमा व्यापक छलफल गरी मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका सर्वसम्मतिबाट पारित गरि नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम महाधिवेशनको आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ,’ कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिमा, पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु हामी सबैको साझा जिम्मेवारी हो । नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ ।’

‘मिति २०८२ मंसिर १५ गतेको महाधिवेशनको कार्यतालिका २०८२ पौष १८ गतेको कार्यसम्पादन समितिको बैठकले शंसोधन गरि १५ औं महाधिवेशन मिति (वैशाख २८–३१, २०८३) तोकिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान अनुसार १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रकृया अघि वढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आव्हान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन ।’

कांग्रेसले भनेको छ, ‘वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन । यस कार्यले पार्टीलाई विभाजनतर्फ लैजान सक्छ ।’

‘विशेष महााधिवेशनको मागलाई अगाडि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्नेछ,’ कांग्रेसले भनेको छ, ‘देश अस्थिरतातर्फ धकेलिने सम्भावनालाई हृदयंगम गर्दै कांग्रेसले एकताबद्ध भएर आम निर्वाचनको तयारीमा जुट्नु आजको आवश्यकता हो ।’

‘अहिले २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सम्बन्धी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरि उम्मेदवारी दर्ता गरिसकेको अवस्था, राष्ट्रिय सभा सदस्यको निर्वाचन लगायतका काममा पार्टी केन्द्रित रहेको छ,’ कांग्रेसले भनेको छ ।

‘निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै खाले सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिन्छ,’ कांग्रेसले भनेको छ, ‘देश, लोकतन्त्रलाई थप मजवुत बनाई आर्थिक समृद्धिको दिशामा अग्रसर बनाउने दृष्टिकोण वैचारिक रुपमा दृढ संकल्पका साथ जनसमक्ष प्रस्तुत गर्नु पर्नेछ, आम निर्वाचन मार्फत् जन अनुमोदन प्राप्त गर्न सकिन्छ र गर्नुपर्ने नै हुन्छ ।’

Published : Thursday, 2026 January 8, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया