विशेष महाधिवेशनको नाममा बोलाएको भेलामा सहभागी नहुन कांग्रेसको अपील, औचित्य समाप्त
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको नाममा हुन लागेको भेलामा सहभागी नहुन सबैमा अपील गरेको छ ।
बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा विशेष महाधिवेशनको नाममा बोलाएको भेलामा सहभागी नहुन अनुरोध र अपील गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले भने, ‘१५औं महाधिवेशनको तिथिमिति सर्वसम्मतिले तोकिसकिएको र त्यो प्रक्रिया समेत प्रारम्भ भइसकेको अवस्थामा अहिलेको अवस्थामा विशेष अधिवेशन वैधानिक र आवश्यक छैन ।’
‘पदाधिकारीहरूले विशेष महाधिवेशन बोलाउने अधिकार पनि विधानमा बन्दोबस्त गरिएको छैन,’ नेता साउदले भने, ‘देशभरिका समस्त केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारीहरू छन्, सदस्यहरू छन्, महाधिवेशन, महासमितिका सदस्यहरू छन्, उहाँहरूलाई उक्त विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।’
उनले भने, ‘विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुरोध गर्ने, अपील गर्ने गरेको छ ।’
‘विभिन्न बिचारहरू आएका छन् । केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन भनिएको भेला रोक्न अपील गर्ने निर्णय भएको छ,’ नेता साउदले भने ।
नेता साउदले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले विशेष अधिवेशन या समयभित्र नियमित अधिवेशन गर्ने माग समेत केही साथीहरूले पार्टी कार्यालयमा प्रस्ताव दर्ता गर्नुभएकोमा नेपाली कांग्रेसले सर्वसम्मतिले पुसभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो निर्णय गरिसकेपछि तत्काल विभिन्न महाधिवेशनका सम्बन्धमा क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण जस्ता महत्वपूर्ण काम भएन । विदेशमा जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि चयनका सम्बन्धमा प्रक्रियाहरू पनि भएका छन् । केही ठाउँमा शुरु भएका छन् । यो प्रक्रिया अगाडि बढिसकेपछि विशेष अधिवेशनको औचित्य समाप्त भएको कुरा केही दिन पूर्वकै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको हो ।’
‘आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि अहिलेको अवस्थामा विशेष अधिवेशन बैधानिक पनि छैन र आवश्यक पनि छैन भन्ने निर्णय गरेको छ,’ नेता साउदले भने ।
‘विशेष अधिवेशन भनिएको भेलामा केन्द्रीय समितिले मात्रै, केन्द्रीय कार्यालयले मात्रै विशेष अधिवेशन आयोजना गर्ने अधिकार भएकोमा कुनै व्यक्ति विशेषले या पदाधिकारी विशेषले बोलाइएको भेलामा पदाधिकारीलाई त्यस्तो विशेष अधिवेशन बोलाउने अधिकार छैन । विधान सम्मत छैन । उक्त भेलामा पार्टीको केन्द्रदेखि तल्लो तहका विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरू, भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू सहभागी नहुनका लागि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको छ,’ उनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया