निर्वाचनलाई भयरहित सम्पन्न गराउन सुरक्षा रणनीतिहरू अवलम्बन गर्नु होला : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार भर्चुअल माध्यमबाट प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।
आईजीपी कार्कीले समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । उनले कुनै पनि अपराधविरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।
पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
आईजीपी कार्कीले भिड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्तलाई अंगिकार गरी कार्य गर्नुपर्ने बताउँदै सवारी दुर्घटना न्यूनीकरणमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने बताए ।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने कार्कीले बताए ।
सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारकासाथ नागरिकका गुनासो सम्बोधन गर्न थप क्रियाशील हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूकोभर्चुअल उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया