गगन–विश्वले कांग्रेस फुटाउन लागेपछि नेता काफ्लेले भने– मनन् गरेर कोर्स करेक्सन गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीलाई क्षति हुनबाट बचाउन जिम्मेवार पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता काफ्लेले नेताहरूबाट गल्ती भएको छभने सुधार गर्नुपर्ने बताए । उनले भने, ‘फेरि एकपटक दश औंला जोडेर भन्छु– हामी क्षतिको बाटो नहिँडौं । एकताको बाटो हिँडौं । कहिँकतै हामी सबैबाट भएका गल्ती छन् भने, मनन गरेर कोर्स करेक्सन गरौं ।’

उनले भने, ‘बिहान सबेरै एकजना कांग्रेस शुभेच्छुकले फोनमा भन्नुभयो, कुन्दन यो के भइरहेछ कांग्रेसमा ? जे भइरहेको छ यसले सिंगो पार्टीलाई क्षति गरिरहेको छ । अब के गर्ने होला ?’

‘शुभेच्छुक मित्रको आवाजमा निहीत चिन्ता मेरो पनि चिन्ता हो । हामी सबैको चिन्ता हो । मैले ती मित्रलाई भनेँ, मैले अग्रज नेता तथा पार्टी पदाधिकारीलाई भन्दै आएको कुरा के हो भने– कांग्रेसमा जेमा अल्झिएको छ, जे विषयमा दुखेको छ त्यसको निरुपण छिटै गर्नुहोस्,’ उनले भने ।

‘हामीसँग समय छैन । जे–जसो गरेर हुन्छ, हाम्रो दललाई एकता र हार्दिकताको दल बनाइदिनुहोस्,’ काफ्लेले भने ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एकतर्फी रुपमा नियमित १५औं महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनबाट पार्टी विभाजनको गतिविधि गरिरहेका छन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय, सानेपा र केन्द्रीय नेतृत्वमाथि आक्रमण गराउन समेत शुरु गरिसकेका छन् ।

Published : Wednesday, 2026 January 7, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया