महामन्त्रीद्वय गगन–विश्वलाई विधानले अधिकार दिएको छैन, अबैधानिक कार्य नगरौं : नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली कांग्रेसको विधानले ‘नियमित’ होस् कि ‘विशेष’ होस्, ‘महाधिवेशन’ गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता गुरुङले केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार पार्टीको विधानले नदिएको बताएका छन् ।
‘केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने पार्टीको वैधानिक व्यवस्था रहेको छ,’ नेता गुरुङले भने ।
‘केन्द्रीय कार्य समितिले अनुमोदन वा निर्णय नगरेसम्म महाधिवेशन सम्बन्धी निर्णय वैधानिकरुपले कार्यान्वयन हुन सक्दैन,’ उनले भने ।
‘२०८२ मंसिर १५ गते नै २०८२ पुष २६, २७ र २८ गते पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको क्षण नै विशेष महाधिवेशनको औचित्य र आवश्यकता समाप्त भइसकेको छ,’ केन्द्रीय सदस्य गुरुङले भने ।
उनले भने, ‘केन्द्रीय कार्य सम्पादन समितिले १५औं महाधिवेशन पुषमा गर्न नसकिने भएकोले मिति परिवर्तन गरि २०८३ बैशाख २८, २९, ३० र ३१ गते तोकिसकेको र मुलुक चुनावमा गैसकेको कारणले विशेष महाधिवेशनको सामाजिक संजालमा हल्ला गर्नुको कुनै औचित्य र आवश्यकता नै छैन ।’
पार्टीको वैधानिक समितिले वैधानिक बाटोबाट वैधानिक तरिकाले वैधानिक प्रक्रियाहरू पूरा गरेको निर्णयहरू मात्रै वैधानिक हुने उनले बताए ।
केन्द्रीय सदस्य गुरुङले भने, ‘अहिले सामाजिक संजालमा चलाइएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन ।’
‘यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुँदैन र हुन पनि सक्दैन,’ उनले भने ।
‘केही व्यक्तिहरूले बोलाएको भेला सानो गुटको भेला मात्र हुनेछ,’ नेता गुरुङले भने, ‘ढुक्क हुनु होस्, नेपाली कांग्रेसको विधान, विधि र प्रक्रिया अनुसार नभएको कुनै पनि महाधिवेशन वा बैठक वा भेला वा सम्मेलन वा विशेष महाधिवेशनलाई पार्टीको विधानले चिन्दैन ।’
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनको बहानामा पार्टी विभाजन गर्ने गतिविधि गरिरहेका छन् । महामन्त्रीद्वय थापा र शर्माको गतिविधि कांग्रेसको विधान विपरीत र अनुहासनहीन कार्य भएको नेता गुरुङले बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया