गगनका समर्थकहरूद्वारा नेता विमलेन्द्र निधिलाई दुर्व्यहार, पार्टी कार्यालयमा हमलाको प्रयास
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका समर्थकहरूले नेता विमलेन्द्र निधिमाथि दुर्व्यवहार गरेका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री थापाका समर्थकहरूले नाराबाजी गर्दै हातपातको प्रयास गरेका हुन् ।
महामन्त्री थापाको आह्वानमा विशेष महाधिवेशनका लागि भनेर पार्टी कार्यालयमा प्रवेश गरेर हो होल्ला र कब्जाको प्रयास भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । नेता निधि लगायतका नेताविरुद्ध नाराबाजी गर्दै गगनको समर्थनमा समर्थकहरूले नाराबाजी गरेका थिए । केही समर्थकले रक्सी पिएर आएका नेता निधिले नै बताएका छन् ।
यसैबीच, नेता निधिले आफूमाथि दुर्व्यवहार गर्नेहरू कांग्रेसका कार्यकर्ता नभएको पुष्टि भइसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै निधिले भने, ‘विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेको छ ।’
नेता निधिले भने, ‘यदि छैन भने मसँग यहाँ भएको जुन दुर्व्यवहार छ कोही हुलदंगा गर्ने, अर्को भाषामा भन्ने हो भने गुण्डागर्दी उच्छृङ्खल तत्व आएको थियो ।’
उनले भने, ‘सरकारको, प्रशासनको पनि यो कर्तव्य हुन्छ । हाम्रै कार्यालयको प्रशासनिक दायित्व पनि पर्छ ।’ आफू आउँदा गाडी आउने बाटो बन्द भएको, गाडीभित्रै बस्ने अवस्था नभएको उनले बताए । त्यही भएकाले आफू गाडीबाट ओर्लिएको उनले बताएका छन् ।
‘म गाडीबाट ओर्लिएपछि दुई चार जना केटाहरू आएर बाटो छेके । उनीहरूलाई म चिन्दिनँ,’ नेता निधिले भने, ‘त्यसपछि मैले मलाई जान दिनुप¥यो भनेँ। उनीहरूले विशेष महाधिवेशन गर्नुप¥यो, हामी तपाईँको भोटर हो भने ।’
त्यसपछि उनीहरूले आफूमाथि उच्छृङ्खल व्यवहार देखाउँदै असभ्य भाषा बोलेर दुर्व्यवहार गरेको उनले बताए । ‘त्यसपछि मैले को हो तपाईंहरू ? मैले त चिनिनँ भनेको हो,’ उनले भने । पछि उनीहरू कांग्रेस नभएको पुष्टि भएको उनले बताएका छन् ।
‘विशेष महाधिवेशन पक्षधर मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेपछि यिनीहरू विशेष महाधिवेशन पक्षधर पनि रहेनछन्,’ निधिले भने । त्यहाँ रहेकाहरूको मुखबाट रक्सी गन्हाइरहेको पनि उनले बताए । यो काम निन्दनीय भएको निधिले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया