तीन मन्त्रीहरू रास्वपामा खुलेपछि प्रधानमन्त्री कार्कीद्वारा राजीनामा माग

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तिर खुलेपछि मन्त्री पदबाट राजीनामा निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा माग गरेकी हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् ।

मन्त्रीहरू राजनीतिक दलमा सहभागी भएपछि सरकारको विश्वसनियतामाथि प्रश्न उठेको कारण देखाउँदै प्रधानमन्त्री कार्कीले तीन मन्त्रीसँग राजीनामा माग गरेको एक मन्त्रीले बताएका छन् ।

मन्त्रिपरिषद् बैठक सकिएपछि ३ जना मन्त्रीहरूसँग प्रधानमन्त्री कार्कीले छुट्टै भेटेर पनि आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति भएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता भने रास्वपा र उज्यालो नेपालबीच एकताका लागि भएको वार्तामा सहभागी भएका थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले रास्वपा र बालेन्द्र साह (बालेन)बीचको एकतापछि त्यसको स्वागतमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि खेरललाई पनि रास्वपा समर्थकका रूपमा हेरिएको छ ।

Published : Tuesday, 2026 January 6, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया