फुट्नबाट कांग्रेस बचाउन विशेष निर्देशन, कार्यकर्तामा आशा पलायो

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै तल्ला तहलाई परिपत्र गरेको छ ।

सोमबार कांग्रेसद्वारा जारी भएको परिपत्र अनुसार नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित तल्ला निकायमा पत्र पठाएको जनाएको छ । परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउनका लागि क्रियाशील हुन निर्देशन दिइएको छ ।

पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मितिमा भएको परिपत्रमा कांग्रेसले जनाएको छ । यो परिपत्रले कांग्रेसका नेता, कार्यकर्ताहरूमा आशा पलाएको छ ।

कांग्रेसको परिपत्रमा भनिएको छ, ‘मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अधि बढी सकेको सबैलाई अवगत नै छ । यसरी नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ ।’

‘महाधिवेशनका लागि आवश्यक विभिन्न प्रकृया मध्ये क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण अनिवार्य पहिलो तयारी मानिन्छ । केन्द्रीय महाधिवेशनका लागि सबैभन्दा पहिले वडा अधिवेशन गर्नु पर्दछ र क्रियाशील सदस्य नै वडा अधिवेशनका पहिलो मतदाता रहेको व्यहोरा पनि अवगत गराइन्छ,’ परिपत्रमा उल्लेख छ ।

‘एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी कार्य सम्पन्न गरी क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा निर्धारित कार्यतालिकाको समयभित्रै पेश गर्नु पर्नेमा हालसम्म पनि पेश नभएको अवस्था छ,’ कांग्रेसले भनेको छ, ‘अर्कोतर्फ २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरी समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची सहित मनोनयन दर्ता गरी सकिएको छ ।’

‘यस सन्दर्भमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र, पालिका, वडा एवं टोल तहका समितिहरू तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरू एवं पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरूको सम्पूर्ण ध्यान यति बेला निर्वाचन केन्द्रित हुनु पर्ने वर्तमान अवस्था छ,’ कांग्रेसले भनेको छ ।

‘पार्टीका उल्लेखित सबै सांगठनिक संरचनामा आबद्ध सदस्य साथीहरू व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपील गर्दछ,’ परिपत्रमा भनिएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरिरहेका बेला कांग्रेसले परिपत्र गरेर निर्वाचन र महाविधेशन केन्द्रित हुन निर्देशन दिएको छ ।

Published : Monday, 2026 January 5, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया