राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न कांग्रेसद्वारा अन्य दलहरूसँग सम्वाद, मंगलबार निर्णय हुने
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचन र त्यसको तयारीका विषयमा छलफल गरेको छ ।
सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने अधिकार भएका दलहरूसँग तालमेल गरेर जाने विषयमा छलफल भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग धेरै मतभार रहेको भन्दै आफ्ना उम्मेदवारलाई विजयी बनाउन तालमेल गरेर जाने सम्भावना रहेको बताए । डा.महतले मंगलबारसम्म दलहरूसँगको सम्वादपछि आउने निष्कर्षलाई कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा कसरी गर्ने ? भन्नेबारेमा छलफल जारी छ । अन्य दलहरूसँगको सहकार्यका विषयमा नेतृत्व तहबाट कुराकानी भइरहेको छ । आज बेलुका, भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ । कुराकानी हुँदै छ । भोलि कार्यसम्पादन समितिको बैठक बसेपछि छलफल कसरी अगाडि बढ्यो ? त्यसको आधारमा हामीले के निर्णय गर्ने भन्ने निधो हुन्छ ।’
‘राष्ट्रिय सभामा कुन कुन दल मिल्न लागेको भन्दा पनि छलफल सबै दलहरूसँग जसको भोटिङ अधिकार छ, राष्ट्रिय सभामा निर्वाचनको लागि निर्वाचित हुने हैसियत राख्ने दलहरूसबैसँग छलफल हुन्छ,’ प्रवक्ता डा.महतले भने ।
‘आम निर्वाचनको लागि होइन राष्ट्रिय सभाको निर्वाचनको लागि सबैसँग छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाको लागि सबै दल जसको मतदान गर्ने हैसियत छ सबैसँग कुराकानी भइरहेको छ । कुराकानीको निकर्ष के निस्कियो ? भोलि बिहानसम्म थाहा पनि हुन्छ । त्यसको आधारमा हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ । भोलि नै हामी उम्मेदवारको बारेमा टुंगो लगाउन कोशिस गर्छौं ।’
उनले भने, ‘गठबन्धनको कुरा भन्दा पनि आमनिर्वाचनलाई दृष्टिगत गरेर यो गठबन्धनमा नजाने हो कि भनेर त्यो बेला महासमितिको बैठक बसेको हो । यो राष्ट्रिय सभाको लागि होइन ।’
‘राष्ट्रिय सभाको लागि यस अगाडि पनि यस किसिमको तालमेल, त्यसलाई गठबन्धन भन्दा पनि तालमेल भन्दा हुन्छ । यो तालमेलको विषय पनि टुंगो लागेको विषय होइन,’ डा.महतले भने, ‘किनकि राष्ट्रिय सभामा तालमेल नगरिकन परिणाम आउँदैन कि ? कसैले पनि तालमेल गर्नुभएन, त्यो अवस्थामा केहीन केही परिणाम हाम्रो सबैभन्दा ज्यादा मतदान अधिकार भएको हुँदाले हाम्रो ज्यादा सम्भावना हुन्छ ।’
‘तालमेल गर्दाको अवस्थामा फेरि अफ्ठ्यारो हुन्छ । बसै दलहरूसँग कुराकानी गरौं । उनीहरूको पनि आसय के छ ? त्यसको निष्कर्ष ल्याऔं,’ उनले भने, ‘त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरौं । छलफल गरेर टुंगो लगाऔं भन्ने कुरा छ ।’
कार्यसम्पादन समितिको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियारले धारणा राखेका छन् । कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा.नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एन.पी. साउँदका साथै आमन्त्रित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा तथा प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्य सम्पादन समितिको बैठक २०८२ पुस २२ गते बिहान ११ः०० बजे पुनः बस्नेछ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया