सभापति देउवाद्वारा पार्टीभित्रको विवादबारे चिन्ता व्यक्त, नेताहरूसँग परामर्श, निर्वाचन केन्द्रित हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको पछिल्लो हलचलका विषयमा आफू निकटका शीर्ष नेताहरूसँग परामर्श गर्दै मिलेर जान आग्रह गरेका छन् ।

आइतबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति देउवाले आफू निकटका नेताहरूसँग पार्टीभित्रको विवादका विषयमा छलफल गरेका हुन् । सभापति देउवाले आफूले कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि सबै नेताहरू मिलेर जानुपर्नेमा विवाद गरेको भन्दै चिन्ता जनाएका छन् ।

सभापति देउवासँगको छलफलका क्रममा शीर्ष नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको धारणा राखेका छन् । नेताहरूले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अपील गर्ने निर्णय भएको नेता विमलेन्द्र निधिले पत्रकारहरूसँग बताएका छन् ।

कार्यवहाक सभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवालाई कार्यसम्पादन समितिको बैठकको निर्णय र पार्टीभित्र देखिएको विवादका विषयमा जानकारी गराएका छन् ।

सभापति देउवाले नेताहरूसँग विशेष महाधिवेशनका विषयमा चासो र चिन्ता राखेका छन् । नेता निधिले निर्वाचन अगाडि नियमित १५औं महाधिवेशन नहुने भएपछि निर्वाचनमा होमिन सबैलाई आह्वान गरिएको बताए ।

Published : Sunday, 2026 January 4, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया