ओखलढुङ्गामा शृंखलाबद्ध हत्या र लुटपाट गर्ने समूह पक्राउ

काठमाडौं । ओखलढुङ्गा जिल्लामा शृंखलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको अनुसन्धान टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको छ । तीन महिनामा तीन जनाको हत्या गर्ने ४ जनाको समूहलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–३, दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेको सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरेको जनाएको छ । बाँकी ३ जनालाई शनिबार रातमाटेबाट पक्राउ गरिएको विज्ञप्तिमा भनिएको छ ।

४ जनाको समूहले गत पुस १५ गते राति ८ बजे ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका– ६, भदौरे गैरीगाँउस्थित किराना पसल सञ्चालन गर्ने दम्पती ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीय श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए ।

दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोलासमेत लुटपाट गरेर उनीहरू फरार भएका थिए ।

घटनापछि संयुक्त प्रहरी टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरूले यसअघि ३ महिनाअघि नै अर्को हत्या गरेको खुल्न आएको थियो ।

असोज २६ गते राति २ बजे ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ चार्खुमा खेती किसानी गरी बस्ने ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको हत्या भएको थियो । कट्वाललाई बन्चरोले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहारबाट हत्या गरी नगद तथा सुनका गरगहनासमेत लुटेर लगेको खुल्न आएको थियो ।

उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो १ थान, रत्नकुमारी कटवालको हत्यापश्चात् लुटिएको भनिएको सुन गालेर बनाइएको रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ । म्याद थप गरेर उनीहरूमाथि थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट भइरहेको छ ।

प्रहरीको अनुसन्धानमा हत्या गर्ने समूहको प्रमुख उद्देश्य लुटपाट गर्ने अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् । अभियुक्तहरू मादक पदार्थ सेवन गर्ने, आर्थिक अवस्था कमजोर रहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

000

विषय: श्रृखला बद्दरूपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ”

मिति २०८२।०९।१५ गते अन्दाजी ०८:०० बजेको समयमा जिल्ला ओखलढुङ्गा चिशंखुगढी गा.पा. वडा नं. ६, भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल संञ्चालन गरी बस्ने वर्ष ६० शोभितमान थापा मगर र निजको श्रीमती वर्ष ६० की रत्नमाया थापा मगर दुवै जनालाई कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरेको, हत्या पश्चात गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गर-गहना र काँचो सुन ६ तोला समेत लुटपाट गरी लगेको घटनाको नेपाल प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पश्चात सो घटनामा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा निजहरुले मिति २०८२/०६/२६ गते राती अन्दाजी २२:०० बजेको समयमा जिल्ला ओखलढुङ्गा सिद्धिचरण न.पा. वडा नं. ४ चार्खुमा खेति किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्न कुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको घटना समेतमा संलग्न रहेको खुल्न आएकोले निजहरु उपर आवश्यक थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भैरहेको ।

निम्न:
पक्राउ अभियुक्तहरुको विवरण:
१. जिल्ला ओखलढुंगा चिसाङ्ग गा.पा. वडा नं. ३ दियाले बस्ने वर्ष २८ को मिलन भन्ने संगम राई । (पक्राउ मिति २०८२/०९/१८ गते, ऐ. स्थित दियालेबाट)
२. जिल्ला ओखलढुंगा चिसाङ्ग गा.पा. वडा नं. ४ रातमाटे बस्ने वर्ष ३० को विनोद राई । (पक्राउ मिति २०८२/०९/१८ गते, ऐ. स्थित रातमाटेबाट)
३. जिल्ला ओखलढुंगा चिसाङ्ग गा.पा. वडा नं. ४ रातमाटे बस्ने वर्ष ३० को प्रकाश भुजेल । (पक्राउ मिति २०८२/०९/१९ गते, ऐ. स्थित रातमाटेबाट)
४. जिल्ला ओखलढुंगा चिसाङ्ग गा.पा. वडा नं. ८ माम्खा बस्ने वर्ष ३० को दोर्जे भन्ने अशोक भुजेल । (पक्राउ मिति २०८२/०९/१९ गते, ऐ. स्थित रातमाटेबाट)

वरामद भएका दशी/प्रमाणहरू:
१. चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो थान -१ ।
२. चार्खुस्थित घटनास्थलबाट मृतक रत्न कुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाएको ५.८० ग्राम तौल भएको रिङ थान १ ।
३. प्रतिवादी दोर्जे भन्ने अशोक भुजेलको घरबाट दाव सहितको खुकुरी थान-१ ।
४. बिनोद राईको खल्तिबाट शोभितमान किराना पसल ( भदौरे, गैरिगाँऊ) बाट लुटिएको रु १०० रिचार्ज कार्ड ।
५. प्रतिवादी विनोद राईको र दोर्जे भन्ने अशोक भुजेलको घरबाट वरामद भएको भरूवा बन्दुक १/१ नाल गरी जम्मा २ नाल ।
६. भदौरे घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो थान-१ ।
७. प्रतिबादीहरुको साथबाट बरामद भएका मोबाईलहरु थान ४ ।

मिति २०८२/०९/२० गते ।

Published : Sunday, 2026 January 4, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया