तत्कालीन समयमा ३० लाख ठगी र युवतीसँगै पक्राउ परेका थारु रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन
काठमाडौं । युवतीसँग गेष्ट हाउसमा पक्राउ परेर छुटेका विवादित छवि भएका लक्ष्मण थारुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
थारु २०६७ असोज २४ गते आइतबारका दिन बिहान करीव ९ बजेतिर बागबजारमा रहेको गणेश गेष्ट हाउसबाट थारु महिलासहित पक्राउ परेका थिए । प्रहरीले गेष्ट हाउसमा छापामार्दा थारु नग्न अवस्थामा महिलासँग परेको तत्कालीन समयमा सञ्चारमाध्यमहरूले प्रहरीलाई उल्लेख गरेर समाचार प्रकाशित गरेका थिए । थारुको पार्टीले उनलाई निलम्बन गरेर छानविनसमेत गरेको थियो । तत्कालीन समयमा थारु र ती महिला सहित गेष्ट हाउस सञ्चालिका पार्वती पुरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐनको अभियोग लगाएर अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
त्यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिको केन्द्रीय सदस्य रहेका बेला पनि थारु पाल ठगी अभियोगमा पनि पक्राउ परेका थिए । पाल ल्याइदिन्छु भन्दै उनले शेर्पा संघबाट ३० लाख रुपियाँ बुझेका थिए । तर, पाल आपूर्ति नगरी उनी फरार भएपछि संघले प्रहरीमा उजुरी गरेको थियो । गौशला प्रहरीले थारुलाई २०७२ जेठ महिनामा पक्राउ गरेको थियो ।
‘भूकम्प पीडितका लागि पाल ल्याइदिन्छु भन्दै ३० लाख (१३ लाख नगद र १७ लाख चेक) लिएको उजुरी शेर्पा संघले गरेको थियो,’ तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी राकेश सिंहले पत्रकारहरूलाई भने, ‘एक हप्तामा ल्यादिन्छु भनेपनि लामो समयसम्म नल्याएको बुझिएपछि पक्राउ गरिएको हो ।’ प्रहरीले थारुविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा समेत दायर गरेको थियो ।
जनयुद्धकालमा माओवादीमा सक्रिय रहेका थारु माओवादी शान्तिपूर्ण राजनीतिमा आए लगत्तै विद्रोह गरी पार्टी गठन गरेका थिए ।
रास्वपाका सभापति रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ लगायतले विवादित छविका थारुलाई केन्द्रीय सदस्य मनोनयन गरेपछि रास्वपाभित्रै खैलाबैला भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया