एमाले अध्यक्ष ओली र नेकपाका संयोजक दाहालबीच भेट, तीन दल मिलेर चुनावमा जाने सम्भावना

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

आइतबार ललितपुरमा ओली र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूको बीच राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन गर्ने विषयमा चर्चा चलिरहेका बेला ओली र दाहालबीच भेट भएको छ ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् । राष्ट्रपतिबाट मनोनीतको हकमा सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनीत हुन्छन् । बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रमुख तीन दल एक्ला एक्लै लड्ने अवस्था नभएकाले तालमेलको प्रयास भएको नेताहरू बताउँछन् । कांग्रेस र एमाले मिल्दा अन्तरघातको डर भएको र कांग्रेस र एमालेमध्ये जसले नेकपासँग तालमेल गरेता पनि अर्को पक्षलाई घाटा हुने अवस्था रहेकाले तीन वटै पक्षबीच तालमेलको प्रयास भइराखेको हो ।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेतारू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन् ।

यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । नेताहरूले भेटका विषयबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

Published : Sunday, 2026 January 4, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया