वन तस्करहरूद्वारा चौकीदारको बन्चरो प्रहार गरी हत्या

हरिवन । सर्लाहीमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोलाई वन तस्करहरूले बन्चरोले प्रहारी गरेर हत्या गरेका छन् ।

ईश्वरपुर नगरपालिका वडा नं. २, राइटरखोरमा वन संरक्षक महतोको हत्या भएको प्रहरीले जनाएको छ । महतो परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले महतोको शव नजिकै रगत लागेको बन्चरो भेटिएको जानकारी दिएका छन् ।

घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

शनिबार बिहान ५ बजेतिर घरबाट निस्केका महतो दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीसँग सम्पर्कमा आएका थिएनन् । उनको फोनसमेत स्विच–अफ रहेको थियो । त्यसपछि महतोको खोजी शुरु गरिएको थियो ।

महतालाई बन्चरोले हानेर घाँटी काटेर हत्या गरेको देखिएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको डीएसपी राईले बताए ।

महतोले वन तस्करसँगको भिडन्तमा वीरगति प्राप्त गरेको भन्दै वन संरक्षण शहीद घोषणा गरिनुपर्ने माग उठेको छ ।

महतो शनिबार बिहान ०५ः०० बजेतिर रूख काटेको आवाज आएपछि साइकल लिएर निस्किएको परिवारका सदस्यहरूले बताएका छन् । अबेरसम्म पनि ड्युटीवाला साथीहरू र परिवारसँग सम्पर्कमा नआएपछि महतोको खोजी शुरू गरिएको थियो ।

शनिबार दिउँसो १३ः२० बजे घटनाबारे जानकारी पाएपछि परियोजना कर्मचारी र सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीले खोजी गरेको थियो । जंगलभित्र बन्चरोले घाँटी छिनाली हत्या गरी झाडीमा फालिएको अवस्थामा शरीर फेला परेको थियो ।

प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ । बाँकी अभियुक्तलाई पनि पक्राउ गरेर कानूनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।

Published : Sunday, 2026 January 4, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया