गगन-विश्वलाई सुध्रिन आग्रह गर्दै उपसभापति गुरुङले भने– परिवारमा दिनदिनै झगडा गर्‍यो भने त्यो परिवार कमजोर हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई चोइटिन नदिने बताएका छन् ।

शनिबार काठमाडौंको विशालनगरमा पत्रकारहरूसँग गर्दै गुरुङले पार्टीलाई टुक्रिन नदिने बताए । उनले भने, ‘पार्टीलाई कुनैपनि हालतमा चोइटिने, टुक्रिन दिनेकुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौं ।’

‘सँगै सबै साथीहरूलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्नेकुरा छ,’ गुरुङले भने, ‘विशेष महाधिवेशन पक्षधरलाई साथ दियो, दिएन भन्नेकुरा गौण हो ।’

उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने पनि बताए । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने उनले बताए ।

‘पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले,’ गुरुङले भने ।

‘परिवारमा दिनदिनै झगडा गर्‍यो भने के हुन्छ, त्यो परिवार ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ ? त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न,’ उनले भने ।

उपसभापति गुरुङले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सुध्रिन सुझाव दिएका छन् । पार्टी विभाजनको गतिविधि भइरहेकोप्रति गुरुङले चिन्ता जनाएका छन् ।

Published : Saturday, 2026 January 3, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया