कांग्रेस बचाउन नेता बजगाईंले गगन–विश्वलाई छाडे, पार्टी फुटाउन उनीहरूले बोलाए नआउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद राजेन्द्रप्रसाद बजगाईंले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्न लागेको विशेष महाधिवेशनमा सहभागी नहुन अपील गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेस नेता बजगाईंले गगन–विश्वलाई विश्वास नगर्न पनि भनेका छन् । उनले गगन थापाबाट परिवर्तन नहुने बताएका छन् ।
महाधिवेशनका लागि भनेर हस्ताक्षर गरिए पनि कांग्रेसको सभापति गगन थापालाई बनाउनका लागि नगरिएको उनले बताएका छन् ।
‘गगन थापामाथि विश्वास नगर्नुहोस् । विशेष महाधिवेशनमा नआउनुहोस् । बाँकी जे पर्छ, लड्न तयार रहनुहोस्,’ नेता बजगाईंले भने, ‘हस्ताक्षर परिवर्तनका लागि हो । तर, परिवर्तन गगन थापाबाट हुँदैन ।’
नेता बजगाईं महामन्त्रीद्वय थापा र शर्माको हस्ताक्षर अभियानमा सहभागी भएका थिए । कांग्रेस पार्टी नै विभाजन गर्ने गरेर थापा र शर्माले गतिविधि गरेपछि नेता बजगाईंले उनीहरूको साथ छाडिदिएका छन् ।
कांग्रेसलाई विभाजन हुनबाट बचाउन गगन थापा र विश्वप्रकाश शर्माको पछाडि नलाग्न आग्रह गर्दै बजगाईंले विशेष महाधिवेशनका नाममा हुने कुनै पनि नौटंकीमा सहभागी नहुन आग्रह गरेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया