सातौं मेयर कप टेबलटेनिस आइतबारदेखि शुरु हुने

जावलाखेल । ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबारदेखि शुरु हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर ललितपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्यले सातौं संस्करणको टेबलटेनिस प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको बताए ।

वडाध्यक्ष शाक्यले खेलकुद मार्फत युवालाई सक्रिय बनाउने तथा खेलाडीलाई टेबलटेनिस खेल बिकास गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा हासिल गराउने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष शाक्यले प्रतियोगितामा महानगरपालिकाभित्रका वडाहरूबाट ३०० जना खेलाडीको सहभागिता रहने बताए ।

प्रतिस्पर्धामा खुल्ला पुरुष, महिला, उमेर समूह गरी जम्मा १७ विधा समावेश गरिएका छन् । स्पर्धा मार्फत टेबलटेनिसका नयाँ खेलाडीको प्रतिभा परीक्षण (टयालेन्ट हन्ट) तथा अनुभवी खेलाडीको क्षमता अभिवृद्धि गर्ने अवसर रहेको वडाध्यक्ष शाक्यले बताएका छन् ।

वडाध्यक्ष शाक्यले विजेता खेलाडीलाई कूल नगद पुरस्कार रु. ४ लाख २५ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताएका छन् ।

ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने खेलमा अन्तर्राष्ट्रियस्तरका निर्णायक सहित अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्दै ३ स्टार बल प्रयोग गरिने जिल्ला संघका अध्यक्ष आशिष अवालेले बताए ।

अन्तर महानगर टेबलटेनिस प्रतियोगिता ललितपुर कनिबहालस्थित वडा नं. ६ कार्यालय प्राङ्गणमा २० देखि २६ गतेसम्म सात दिन निरन्तर खेल सञ्चालन हुनेछ ।

Published : Friday, 2026 January 2, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया