काठमाडौंको गरुड क्यासिनोमा प्रहरी छापा, ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गुरुड क्यासिनोमा छापामारेर ५ जनालाई पक्राउ गरेको छ ।

क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराइ जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताए ।

बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङस्थित गरुड क्यासिनोमा छापामारेर विभिन्न दरका चिप्सहरूसहित ५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारी बस्ने वर्ष ६५ का पशुपति खड्का, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४६ का दयाराम राना, काठमाडौं महानगरपालिका वडा नं. ६ रामनगर बौद्ध बस्ने वर्ष ५३ का भरतराज पौडेल, दोलखाको मेलुङ गाउँपालिका वडा नं. २ घर भइ काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ बस्ने वर्ष ४० का सन्तोष भण्डारी र खोटाङको खोटेङ्हाङ गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ४ बसुन्धरा बस्ने वर्ष २४ का गणेशबहादुर मगर रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले गरुड क्यासिनो लेखिएका विभिन्न रंगका चिप्सहरू बरामद गरेको एसपी भट्टराईले बताए ।

Published : Thursday, 2026 January 1, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया