सिद्धि गणेश सहकारी कप चेसको तयारी पूरा

भक्तपुर । सहकारीको सातौं सिद्धान्त समुदायप्रति चासोमा आधारित रहेर सिद्धि गणेश सहकारीले खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीहरूलाई बुद्धिचाल स्पर्धाको अवसर जुराउँदै आफ्नै नाममा सिद्धि गणेश सहकारीले प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेको छ ।

प्रतियोगिताका संयोजक विष्णुराम डुमरुका अनुसार पौष १८ र १९ गते दुई दिन सञ्चालन हुने रापिड बुद्धिचाल खेलमा १८ जना विजयी खेलाडीहरूले कुल नगद पुरस्कार ५१ हजार प्राप्त गर्ने छन् ।

संयोजक डुमरुले प्रथम स्थान हासिल गर्ने खेलाडिले नगद रु. १० हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन् ।

खेलमा द्वितीय हुनेले रु. ७ हजार, तृतीय हुनेले ५ हजार एवं दशौं स्थानसम्म आउने खेलाडीले नगद पुरस्कार हात पार्ने छन् ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट महिला, सिनियर खेलाडी, नव प्रवेशी, उत्कृष्ट स्थानीय, १९ सय, १८ सय, १७ सय रेटिङ मुनिका खेलाडी, युवा १६ वर्षका खेलाडी समेतले पुरस्कार पाउने भएका छन् ।

प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खाइजुले प्रतिस्पर्धा स्विस लिग अन्तर्गत ९ चरणको खेल सञ्चालन हुने जानकारी गराएका छन् ।

खाइजुका अनुसार प्रत्येक चरण १० मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट टाइम कन्ट्रोलमा खेलाइने छभने डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कटवानटु टाइब्रेकर नियम लागू हुने जानकारी गराएका छन् ।

भक्तपुर नगरपालिका वडा नं. ७ को खञ्चस्थित सिद्धि गणेशको ट्रेनिङ सभा हलमा पहिलो दिन १० बजेदेखि जम्मा ४ चरणको खेल हुनेछ ।

दोश्रो दिन ५ चरणको खेल पश्चात पुरस्कार वितरण समारोह सम्पन्न गर्ने आयोजकले जानकारी गराएका छन् ।

Published : Thursday, 2026 January 1, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया