प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, कुरा सुनेपछि खुई…पूरै थाकेको जस्तो

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारमा कार्की र प्रसाईंबीच भेट भएको हो । प्रधानमन्त्री कार्कीले जनमत संग्रहबारे निर्णय लिन आइतबारसम्मको समय माग गरेकी छिन् । आफूहरूको माग पूरा गर्न आइतबारसम्मको अल्टिमेटम दिइएको प्रसाईंले बताए ।

सरकारले आगामी आइतबारसम्म पनि आफूहरूका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् । प्रसाईंले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए ।

अभियानका संयोजक प्रसाईंले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यी मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातिसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ । उहाँले खै के के भनेर खुई… गर्नुभयो । पूरै थाकेको जस्तो ।’

‘जेनजीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई थुन्ने भने । आइतबारसम्मको समय माग्नुभयो,’ प्रसाईंले भने, ‘आइतबार सही गरौँ दुई पक्ष बसेर सोमबारको मन्त्रिपरिषदबाट पास गर्दछौँ । सकेनौँ भने आइतबारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ ।’

‘नक्कली एउटा मात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन,’ संयोजक प्रसाईंले भने । प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए ।

Published : Thursday, 2026 January 1, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया