तमु ल्होसारको अवसरमा बर्दघाटमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न
बर्दघाट । गुरुङ समुदायको तमु (गुरुङ) ल्होसारको अवसरमा नवलपरासीको बर्दघाट साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार बर्दघाट नगरपालिका वडा नं. १६ स्थित शीतलबस्तीमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको पूर्व वडाध्यक्ष शुकबहादुर गुरुङले बताएका छन् ।
कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । ल्होसारको अवसरमा आयोजना गरिएको कार्यक्रममा गायक अर्जुन सापकोटाले आफ्नो साँस्कृतिक प्रस्तुति दिएका छन् ।
कार्यक्रमा स्थानीय कलाकार तथा साँस्कृतिक समूहहरूको प्रस्तुति पनि उत्तिकै आकर्षक रहेको थियो । गायक भरत क्षेत्री लगायत स्थानीय कलाकारले पनि प्रस्तुति दिएका छन् ।
स्थानीय कला, सँस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्न महोत्सव प्रभावकारी हुने आयोजकहरूले बताएका छन् ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सबै समुदायको कला, संस्कृति र मौलिकताको संरक्षणमा नगरपालिकाले अहम् भूमिका खेल्दै आएको बताए । श्रेष्ठले विविध जातजाति र समुदायको संस्कृति नै नगरको पहिचान भएको बताएका छन् । सबै समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनमा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
सामाजिक विकास समितिका संयोजक भीमकाजी गुरुङले स्थानीय सरकारले कला र संस्कृतिको जगेर्नाका लागि निरन्तर हातेमालो गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी निरन्तरता दिनुपर्ने बताएका छन् ।
तमु ल्होसारको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले गुरुङ समुदायको संस्कृति संरक्षणमा अग्रसरता देखाउनुका साथै सबै समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।
आगामी दिनमा कार्यक्रमलाई थप परिस्कृत र परिमार्जन गर्दै लगिने बर्दघाट नगरपालिका वडा नं. १६ का पूर्व वडाध्यक्ष सुकबहादुर गुरुङले बताए । पूर्व वडाध्यक्ष गुरुङको सकृयतामा हरेक वर्ष शीतलबस्तीमा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।
कार्यक्रमका लागि बर्दघाट नगरपालिकाले बजेट समेत बिनियोजन गर्दै आएको छ । नगरपालिकाको सहयोगमा स्थानीय युवाहरूलाई खेलकुदका साथै विभिन्न रचनात्मक कार्यक्रममा सहभागी गराउने कार्य हुँदै आएको छ ।











बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया