गगन आयोगको कालोसूचीमा परे, आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने सम्भावना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् तत्कालीन समयमा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका गगनकुमार थापालाई निर्वाचन आयोगले कालोसूचीमा राखेको छ ।
आयोगले जारी गरेको सूचनामा कांग्रेसबाट तत्कालीन समयमा काठमाडौं ४ बाट विजयी भएका थापालाई कालोसूचीमा राखिएको उल्लेख छ । आयोगले जारी गरेको कालोसूचीका कारण थापालाई फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनबाट बञ्चित हुन सक्ने कानूनका जानकारहरूले बताएका छन् ।
कांग्रेसका महमन्त्री समेत रहेका निवर्तमान सांसद थापाले गत २०७९ सालको निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसबाट विजयी भएका थिए । थापाले खर्च विवरण सार्वजनिक गरेका थिएनन् । खर्च विवरण सार्वजनिक नगरेपछि आयोगले पटक पटक ताकेता गर्दा समेत थापाले अटेर गरेका थिए ।
आयोगले सूचनामा भनेको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई आयोगको मिति २०८०/०१/०४ को निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने देहाय बमोजिमका उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही रु. १५००० (पन्ध्र हजार) रुपियाँका दरले जरिवाना हुने ठहरछ ।’

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको ‘ब्ल्याक लिस्ट’मा रहेको जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १ हजार ८० जना उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका छन् ।
‘कानुनअनुसार आयोगले गरेको निर्णय नमान्ने त्यस्ता व्यक्ति फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउँदैनन्,’ भण्डारीले भने, ‘विगतका निर्वाचनमा उम्मेदवार भएका सबै व्यक्तिको विवरण हामीसँग छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नाम कम्प्युटर प्रणालीमार्फत भिडाएर जाँच हुन्छ । यदि अघिल्लो चुनावमा खर्च विवरण नबुझाएको वा सार्वजनिक नगरेको पाइयो भने उम्मेदवारी नै अस्वीकार हुन्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया