पर्वतमा तमु ल्होसारको कर्याक्रममा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तमु ल्होसार पर्वले सामाजिक सद्भाव विकास गरि सबैलाई एकतामा बाँध्न मद्दत पुर्‍याएको बताएका छन् ।

मंगलबार गृहजिल्ला पर्वतस्थित श्री मोदीकाली बुद्ध सेवा विकास समाज लगायत स्थानीय आमा समूहद्वारा आयोजित तमु ल्होसार पर्वको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले सबै जातजातिको पर्व र संस्कृतिले समाजलाई झन् बलियो बनाएको बताए । उनले आफूलाई तमु ल्होसार पर्वको अवसरमा आयोजित कार्यक्रमममा बोलाएर सम्मान गरेकोमा आमा समूह र स्थानीय गुरुङ समुदयाप्रति आभार प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका तरुण अध्यक्ष गुरुङले गुरुङ समुदायले मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्धन गर्दै पर्यटन प्रवर्द्धनको माध्यमबाट देशलाई विकासको गतिमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

तमु ल्होसार पर्वको कार्यक्रममा सांस्कृतिक झाकीसहितको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ । कुश्मास्थित श्री आनन्द गुम्बामा स्थानीय श्री बौद्ध युवा संघको पहलमा भएको ढुङ्गा छाप्ने कार्यको पनि अध्यक्ष गुरुङले उद्घाटन गरेका छन् । आयोजका तर्फबाट अध्यक्ष गुरुङलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।

Published : Tuesday, 2025 December 30, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया