रवि–बालेन–कुलमानलाई ओलीले भने– सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै होइन

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जसजसले सहमति गरेर बाँडे पनि एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताए ।

उनले भने, ‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर, निर्णय देख्दा हस्यास्पद लाग्यो ।’

‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ,’ ओलीले भने, ‘यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’

घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा, बाख्राहरूको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने ओलीले बताए । उनले एमाले र कांग्रेसजस्ता दलहरू ठूला र पुराना लोकतान्त्रिक शक्ति भएको बताए ।

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको ओलीले बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्ने बताएका छन् ।

Published : Tuesday, 2025 December 30, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया