रवि-बालेन-कुलमानको समानुपातिक सूचीमा दाई, भाञ्जा, ससुराली, व्यापारीको छोरा र छिमेकी
काठमाडौं । नेपो किड्स र नातावादको चर्को विरोध गर्दै भएको हिंसात्मक जेनजी आन्दोलनको अपनत्व लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपाध्यक्ष कुलमान घिसिङ र नेता बालेन्द्र साह (बालेन)हरूले परिवारभित्रका सदस्यहरूलाई समानुपातिक तर्फको बन्द सूचीमा नाम राखेर बुझाएका छन् ।
अहिले जेनजी आन्दोलनका अगुवाले साथ दिएको रास्वपाको समानुपातिक सूचीमा भने नेपो किड्सको बिगबिगी देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल समानुपातिक सूचीमा छन् । उनी खस आर्यतर्फ सहमहामन्त्री विपिनकुमार आचार्यपछि दोस्रो नम्बरमा परेका छन् । चन्द्र ढकाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । कुनै राजनीतिक पृष्ठभूमि नभएका ढकाल सिधै दोस्रो नम्बरमा कसरी परे ? रास्वपा नेताहरूले प्रश्न उठाएका छन् ।
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छिन् ।
यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम साहका दाजु आसिफ साह पनि समानुपातिक सूचीमा मुस्लिम कोटाको १ नम्बरमा समावेश छन् । रवि लामिछाने र बालेन्द्र साह (बालेन)को पटकपटकको छलफल असिम साहको कुपण्डोलको घरमा भएको थियो ।
समानुपातिक सूचीमा रास्वपाका उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । आदिवासी जनजातिको १ नम्बरमा कुलमानका भाञ्जा डा. राम लामा रहेका छन् ।
उज्यालो नेपालले १८ जनाको सूची रास्वपालाई दिएको थियो । उक्त सूचीबाट चार जनाको नाम काटेर १४ जना बन्दसूचीमा परेका छन् । स्रोतका अनुसार ल्हाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुबेदी र राजदेव रामको नाम काटिएको छ ।
बन्दसूचीमा समावेश १४ जनामध्ये दुईजना आ–आफ्नो क्लस्टरमा पहिलो नम्बरमा रहेका छन् ।
कुलमानका भाञ्जा डा.लामासँग राजनीतिक पृष्ठभूमि भने होइनन् । डा.लामा उर्जा व्यवसायी हुन् । मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका उनी एक दशकदेखि जलविद्युत क्षेत्रमा काम गरिरहेका छन् ।
आदिवासी जनजातिकै क्लस्टरमा आठौं नम्बरमा नाम रहेका धर्मलाल तामाङ पनि कुलमानका नातेदार हुन् । उनी कुलमानका भाइको ससुरा भएको बुझिएको छ । तामाङ भर्खरै मात्र एमाले छोडेर मात्र उज्यालो नेपालमा आएका थिए ।
आदिवासी जनजाति महिलाको क्लस्टरमा पुछारमा रहेकी तुलसा वाइवा उज्यालो नेपालको कार्यालय सचिवकी पत्नी भएको जनाइएको छ । स्रोतले उनी पनि कुलमानको नातेदार हुन् ।
सूचीमा कुलमानका एकजना निकटका साथी पनि अटाएका छन् । उनी हुन् खस आर्यको क्लस्टरमा १० औं नम्बरमा रहेका दुर्गाबहादुर सुबेदी । स्रोतका अनुसार सुबेदी कुलमानका बाल्यकालदेखिकै साथी हुन् । रामेछापमा उनीहरू छिमेकीसमेत थिए । सुबेदी नेकपा (एकीकृत समाजवादी) छोडेर उज्यालो नेपालमा आएका हुन् ।
उता, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै ७८ वर्षीय ससुरा अर्जुन नरसिंह केसीलाई समानुपातिक सूचीमा राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पौडेल र पूर्वराष्ट्रपति डा.रामवरण यादवले आफ्ना छोरा डा.चन्द्रमोहन यादवलाई कांग्रेसको समानुपातिक सूचीमा राखेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया