रवि–बालेन–कुलमानबीच सम्झौता भएको केही घण्टाभित्रै डा.कोइरालाले भने– नेपालमा विदेशी चलखेल

काठमाडौं । रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङबीच सम्झौता भएको केही घण्टापछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटनलाई सम्बोधन गर्दै डा.कोइरालाले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् ।

‘नेपाल जहाँ अवस्थित छ, एकदमै स्ट्याटिजिटिक लोकेसनमा छ । विश्वमा बहुत कम देश होलान् जो नेपालजस्तो स्ट्याटिजिटिक लोकेसनमा भएको होलान्,’ डा.कोइरालाले भने, ‘जहाँ दुईटा ठूला छिमेकीहरू हाम्रो उत्तर र दक्षिणमा छन् । विश्वको शक्तिशाली देशको पनि यहाँ चलखेल छ ।’

उनले नेपालमा विदेशी चलखेल छैन भन्न नमिल्ने बताए । ‘स्वभाविक हो, हुन्छ पनि । दुईटा छिमेकीहरूको त हुने नै भयो,’ डा. कोइरालाले भने, ‘यसलाई हामीले छैन भनेर भन्न मिल्दैन । एकदम स्वाभाविक छ यो कुराहरू ।’

विदेशीहरूमा नेपालका राजनीतिज्ञरूप्रति चासो र चिन्ता रहेको कांग्रेस नेता डा.कोइरालाले बताए । ‘उनीहरूको चासो र चिन्ता पनि छ हामीसित । चासो त छँदैछ, चिन्ता पनि त्यत्तिकै छ,’ डा.कोइरालाले भने, ‘किनभने, हामी राजनीतिज्ञहरू जनताप्रति इमान्दार भएनौं, विदेशी शक्तिहरूसित पनि इमान्दार भएनौं । उनीहरूको सबैभन्दा ठूलो गुनासो त्यो छ ।’

विदेशी शक्तिहरूले सधैं नेपालका राजनीतिज्ञहरूलाई जनताका प्रति संवेदनशील हुन र जनताको काम राम्रोसँग गर्न भन्ने गरेको पनि डा.कोइरालाले बताए । ‘तिमीहरू इमान्दार होउ जनताका प्रति । जनताको काम राम्रोसित गर । र, हामीहरूलाई झुक्याउने काम तिमीहरू नगर भनेर उनीहरूले सधैँ हामीहरूलाई भनिराखेका हुन्छन्,’ उनले भने ।

रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङलाई विदेशी दलालको आरोप लागेको बेला कांग्रेस नेता डा.कोइरालाको पछिल्लो अभिव्यक्ति आएको छ । डा.कोइरालाको भनाइ कांग्रेस, एमाले, नेकपा जस्ता दलमा रहेका केही नेताहरूप्रति पनि लक्षित छ ।

डा.कोइरालाले दलका नेताहरू आफ्नो स्वार्थका लागि गलत कदमहरू चालिरहेको पनि बताएका छन् । ‘हामीहरू आफ्नो स्वार्थको निम्ति, कुर्सीमा बसिरहनको निम्ति गलत कदमहरू चलाइराखेका छौं,’ डा.कोइरालाले भने ।

कांग्रेस नेता डा.कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको बताए । उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए ।

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनले बताए ।

कांग्रेस निर्वाचनबाट नभाग्ने तर, हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उनले बताएका छन् । डा.कोइरालाले सरकारले त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको बताए । हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको नेता डा.कोइरालाले बताए । उनले सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको बताए ।

भदौ २४ गते भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उनले बताएका छन् । मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको डा.कोइरालाले बताए । उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने बताएका छन् । यो सब कांग्रेस–एमालेको सरकार हटाउनका लागि मात्र हो त ? डा.कोइरालाले प्रश्न गरेका छन् ।

Published : Tuesday, 2025 December 30, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया