जेनजीका माग जायज भए पनि आन्दोलनमा घुसपैठ भयो : रमेश लेखक
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका छन् ।
सोमबार काठमाडौंस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरेर लेखकले कुनै पनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका लेखकले आन्दोलनको क्रममा हाताहति भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको बताए । उनले आफूले २२ भदौमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकयका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको बताए । उनले सुरक्षा निकायलाई दिएको दिशानिर्देशलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको बताए ।
लेखकले आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने बताए । उनले जेनजी आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिइ स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानूनी व्यवस्था विपरित भएको बताएका छन् ।
उनले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताए ।
उनले प्रचलित कानूनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताए । उनले यसतर्फ सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् ।
उनले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहति भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए ।
लेखकले भदौ २३ को प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय या योजना नभएको बताए । लेखकले भदौ २२ गते साँझ बसेको सुरक्षा समितिको बैठकमा प्रदर्शनमा बल प्रयोग गर्नेबारे कुनै निर्णय नभएको बताए । भदौ २३ गतेका दिन आफूले सुरक्षा निकायलाई कुनै हताहति हुने आवस्था आउन नदिन सावधानी अपनाउन, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउन र घुसपैठ हुन सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिएको बताए ।
भदौ २३ को प्रदर्शनमा व्यापक घुसपैठ भएको र जेनजीका भावनामाथि सुनियोजित रूपमा खेलेर शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाइएको उनले बताए । लेखकले स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगबाट छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पनि आयोगलाई आग्रह गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया