दुई विपरित ध्रुव रवि र बालेनबीच सहमति, बालेनका मान्छेहरू रास्वपामा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच सहमति भएको छ ।

आइतबार बिहान ललितपुरमा भएको सहमतिअनुसार रास्वपामा बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ । सहमतिपत्रमा भनिएको छ, ‘यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।’

रास्वपाको पार्टी संरचनालाई थप सक्षम र फराकिलो बनाउनका लागि युवा अभियन्ता र अनुभवी विज्ञलाई ल्याउने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

बालेन र रवि दुई विपरित ध्रुव हुन् । उनीहरूबीच सम्झौता र सहमति भए पनि धेरै लामो समय उनीहरू एक ठाउँमा रहन्छन् भन्नेमा प्रश्न छ । बालेन र रविको स्वभाव मिल्दैन । उनीहरू दुबै शक्ति आफ्नो हातमा लिन चाहन्छन् ।

हस्ताक्षरको क्षणमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालका साथै नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । बालेनको तर्फबाट कुमार बेन, सुदीप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि कार्यक्रमको साक्षी रहेका थिए ।

‘बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिपत्रमा उल्लेख छ ।

रास्वपाको नाम, झन्डा र चुनाव चिह्न भने साविककै हुने रवि र बालेनले गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

‘पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने,’ सहमतिपत्रमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान पनि गरिएको छ ।

Published : Sunday, 2025 December 28, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया