सभापति देउवाको आग्रहमा कांग्रेसले ठूलो छाती बनाएर गर्‍यो निर्णय, समानुपातिकको मापदण्ड तयार

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका १ सय १० उम्मेदवार चयनका लागि मापदण्ड तयार गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेसले कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूको अनुशासनको कारबाही पनि फिर्ता लिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले मुलुक संकटका बेला रहेको, ठूलो छाती बनाएर तथा पार्टीका सबै साथीहरू मिलेर जानुपर्ने समय आएको भन्दै अनुशासनको कारबाही फिर्ता लिन कार्यसम्पादन समितिमा आग्रहसहितको सन्देश पठाएका थिए । सभापति देउवाको सन्देश र आग्रहमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले अनुशासनको कारबाही फिर्ता लिएर निर्वाचन होमिन निर्देशन दिएका छन् ।

‘वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै देहाय बमोजिमको निर्णय गरिएको छ,’ बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको छ,’ कांग्रेसले भनेको छ ।

‘यसरी कार्वाही माफी÷मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’

‘विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक पुस १३ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Saturday, 2025 December 27, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया