गुरुङ समुदायले मनाए लक्जम्बर्गमा तमु ल्होछार

लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँ वर्षको रुपमा मनाइने तमु ल्होछार पर्व युरोपेली मुलुक लक्जम्बर्गमा पनि भव्यरुपमा सम्पन्न भएको छ ।

बिहीबार लक्जम्बर्गमा तमु समाज लक्जम्बर्गद्वारा आयोजना गरिएको ‘तमु ल्होछार–२६१०’ विशेष कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तमु समाज लक्जम्बर्गका अध्यक्ष सन्तोष गुरुङ्गले विदेशी भूमिमा आफ्ना परम्परा र संस्कृति जोगाउन यस्ता कार्यक्रम गर्न पाउनु गौरवको विषय भएको बताए । आफूहरूले आयोजना गरेको यस्ता कार्यक्रमले लम्जम्बर्गमा रहेका गुरुङ्ग र गैह्र–गुरुङ्ग समुदायका मानिसहरूबीच आपसी सद्भाव कायम राख्ने गुरुङ्गले बताए ।

सात समुद्र पारिको विदेशी माटोमा फूल्दै गरेका फूलरुपी नेपाली सन्तानहरूलाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जानकारी गराउन र संस्कृति आदानप्रदान गर्न यस्ता पर्व र चाडहरू कोशेढुंगा सावित हुने अध्यक्ष गुरुङ्गको भनाई थियो ।

तमु समाज लक्जम्बर्गका सहसचिव चित्र गुरुङ्गले आगामी वर्षहरूमा लक्जम्बर्गमा रहेका सिँगो नेपाली समुदायलाई सहभागि गराउने र उनीहरूभित्र रहेका प्रतिभालाई प्रस्फूटन गराउने एउटा साझा चौतारीको रुपमा तमु ल्होछार पर्व मनाउने सोंचमा आफूहरू रहेको बताए ।

लक्जम्बर्गमा रहेका समाजका अगुवा, तथा विभिन्न नेपाली समुदायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले आफ्ना सन्ततिहरूलाई समेत संस्कृति र परम्पराको बारेमा जानकारी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।

लक्जम्बर्गको सेनेगनस्थित कोशेली रेस्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा लक्जम्बर्गमा रहेर विभिन्न क्षेत्र र समुदायका क्रियासिल नेपाली अग्रज तथा अगुवाहरूलाई तमु समाज लक्जम्बर्गले सम्मान समेत गरेको थियो ।

लक्जम्बर्गमा रहेका तीनै पुस्ताका नेपालीहरूको सहभागिता रहेको कार्यक्रममा गुरुङ्ग संस्कृति झल्कने पहिरनका साथै सांगीतिक प्रस्तुति समेत देखाइएको थियो ।

त्यस अवसरमा गुरुङ्ग र अन्य समुदायका स्थानीय प्रतिभाहरूले प्रर्दशन गरेको विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रम थप रोचक बनेको थियो ।

तमु समाज लक्जम्बर्गले गतवर्षदेखि तमु ल्होछारको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ ।

नेपाली पात्रो अनुसार हरेक वर्षको पुस १५ गतेका दिन मनाइने तमु ल्होछारको सन्दर्भमा तमु समाज लक्जम्बर्गले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको हो ।

गुरुङ्ग समुदायमा विशेष गरी १२ जीवजन्तुको प्रतीक (पात्रो) अनुसार एक वर्ष सकिएर नयाँ वर्ष सुरु भएको खुसियालीमा यो पर्व मनाउने चलन रहेको छ । यही सिलसिलामा यो वर्ष (सप्री ल्हो) सर्प वर्षको विदाई र (त ल्हो) घोडा वर्षको स्वागत गरिएको छ ।

तमु ल्होछारका अवसरमा गुरुङ्ग समुदायले टाढा–टाढा रहेका परिवारका सदस्यहरु, आफन्त र नातागोता एकआपसमा भेला हुने, पूजापाठ तथा सांस्कृतिक कार्यक्रम गर्ने, एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै मिठो खाने र नाचगान गरी यो पर्व मनाउने गर्दछन् ।

पुस १५ गते सबैभन्दा लामो रात हुने विश्वासका साथ यो रात सकिएर दिन लामो हुन थालेपछि नयाँ वर्षको स्वागत गर्ने र यही सन्दर्भमा प्रकृति पूजासँग यो पर्वको सम्बन्ध जोडिएको इतिहाँसविदहरूको भनाई छ । जसले गुरुङ सभ्यता र संस्कृतिको विशेष पहिचान समेत झल्काउने गरेको छ ।

Published : Saturday, 2025 December 27, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया