सिनामंगलको होटलमा बस्दै आएका ३ विदेशीको साथबाट साढे ४ किलो कोकिन बरामद

काठमाडौं । झन्डै साढे ४ किलो कोकिनसहित दुई भारतीय र एक थाई महिलालाई काठमाडौंको सिनामंगलबाट प्रहरीले पक्राउ गरेको छ ।

लाओसबाट सिंगापुर हुँदै आएका भारतीय नागरिकका साथबाट ३ किलो ७५० ग्राम र लाओसबाट थाइल्यान्ड हुँदै नेपाल आएकी थाई महिलाका साथबाट ५ सय ५० ग्राम प्रतिबन्धित लागुपदार्थ कोकिनसहित प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले पक्राउ गरेको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय मुरचलेन्ड हुसेन, ५५ वर्षीय जेभियर म्याथ्यु थालियाचेरी र ४० वर्षीया थाई महिला रुसानी कामा रहेको ब्यूरोका एसएसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् ।

दुई भारतीय शनिबार र थाई महिला सोमबार पक्राउ परेको एसएसपी कोइरालाले बताए । उनीहरू सिनामंगलको एक होटलमा बस्दै आएका थिए ।

हुसेन भने कोकिन लिन भारतबाट नेपाल आएका हुन् । गोप्य सूचनाका आधारमा ब्यूरोको टोलीले छापामारेर उनीहरूलाई होटल बाहिरबाट पक्राउ गरेको थियो ।

होटल खानतलासी गर्दा लागुऔषध कोकिन बरामद भएको छ । बरामद कोकिनको बजारमूल्य १२ करोडभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।

भारतीय नागरिकले कफीको प्याकेटभित्र र थाई महिलाले क्याप्सुल बनाएर निलेर ल्याएकी कोकिन भित्र्याएकी थिइन् । चिकित्सा विधिबाट उनको पेटमा रहेको क्याप्सुल दिसामार्फत बाहिर निकालिएको थियो ।

Published : Thursday, 2025 December 25, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया