सलामी खान प्रहरी कार्यालय छिरे लुम्बिनीका मन्त्री पाण्डे, देखाए झल्लु हर्कत

भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा गएर सलामी लिएका छन् ।

दुई दिन अगाडि खेलकुदमन्त्री पाण्डेले नवलपरासी प्रहरीको कार्यालयमा गएर प्रहरीलाई लाईन लगाएर सलामी लिएका हुन् । सलामी लिने क्रममा मन्त्री पाण्डेले आफ्नो पोसाकमा समेत ध्यान दिएका छैनन् । उनीको रातो टोली लगाएका छन् । निकै झल्लु तरिकाले उपस्थित भएका पाण्डेले आफू प्रदेशको मन्त्री हुँ भन्ने मर्यादा पनि भुलेका छन् । मन्त्री पाण्डेले आफ्नो पोसाकको ख्यालत गरेका छैनन् नै तर, नेपाल प्रहरीको गरिमालाई समेत ध्यान दिएका छैनन् । प्रहरी कार्यालय उनको मन्त्रालयभित्र पर्दैन । तैपनि सलामी खान प्रहरी कार्यालयहरू खोज्दै हिँड्छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सोमदास ढकालले मन्त्री आएपछि सम्मानमा सलामी लगायतका कार्यक्रम गर्ने प्रहरीको दायित्व रहेको बताए ।

मन्त्री पाण्डेलाई बेलाबेला सलामी खाने सनक र रहर चलेका कारण चर्चामा आइरहन्छन् । पाण्डे युवा तथा खेलकुद मन्त्री हुन् । प्रहरीसँग उनको मन्त्रालयको सिधै कुनै पनि काम पर्दैन । काम नपरे पनि सलामी खान बेलाबेला पाण्डेले मन्त्री पदको औकात देखाउने गरेका छन् । सडकमा हिंड्दा प्रहरीको सिपाहीले नदेखेर वा नचिनेर सलाम गरेन भने पनि प्रहरीका हाकिमलाई फोन गरेर फलानो ठाउँमा रहेको प्रहरीले सलाम गरेन भनेर लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री पाण्डेले उजुरबाजुर गर्दै आएका छन् ।

बेलाबेला डिउटीमा खटिएका सिपाही र हवल्दाहरूलाई हप्काउने, धम्काउने, थर्काउन लगायतका गतिविधि गरेका भिडियो आफै बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

मन्त्री पाण्डेले नवलपरासी प्रहरीलाई पहिला नै फोन गरेर आफू आउन लागेको र सलामीको व्यवस्था गर्न निर्देशन दिएको स्रोतले जनाएको छ । त्यसपछि सबै काम छाडेर प्रहरीले हतार हतार सलामीको व्यवस्था गरेको थियो ।

लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री पाण्डे जस्ता मन्त्रीहरूका कारण संघीयताको बदनाम भइरहेको छ । मन्त्रीहरूको काम छैन । नमस्कार खान सरकारी कार्यालय जाने, प्रहरी कार्यालयमा काम नहुँदा पनि छिरेर सलामी खाने लगायतका हर्कत लुम्बिनी प्रदेशका मन्त्रीहरूले गरिरहेका छन् ।

Published : Thursday, 2025 December 25, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया