संस्कृति विश्वविद्यालयका उपकुलपतिसहित ३ जनामाथि भएको आक्रमणको निन्दा र भर्त्सना
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी, दाङका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, उपप्रशासक खिमबहादुर के.सी. र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि गरिएको आक्रमणको घोर निन्दा र भर्त्सना भएको छ ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको परिसरभित्र रहेको उपकुलपति आवासमा अनधिकृत रूपमा प्रवेश गरी पुस ६ गते बिहान ०८.०० बजेतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र उक्त पार्टीको भ्रातृसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को नाममा उपकुलपति प्रा.डा.नेपाल, उपप्रशासक के.सी. र स्वकीय सचिव रिजालमाथि आक्रमण भएको थियो ।
सो आक्रमण सुनियोजित रहेको भन्दै नेसविका पदाधिकारी, निकाय प्रमुख, महाशाखा प्रमुख, शाखा प्रमुख, विभिन्न पेशागत सङ्घसङ्गठनका प्रतिनिधि र शिक्षक तथा कर्मचारीहरूको पुस ७ गते बेलभुण्डीमा सम्पन्न बृहत् भेलाले गम्भीर खेद व्यक्त गरेको शिक्षाध्यक्ष प्रा.भोजराज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
भेलाले तीव्र विरोध र निन्दासहित विश्वविद्यालयका पदाधिकारी एवम् जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संस्कृत विश्वविद्यालय नेपाली जनता, विशेष गरी संस्कृत र संस्कृतिप्रेमीहरूको त्याग, तपस्या र श्रमदानवाट स्थापित भएको प्राच्य वाङ्मयको पवित्र मन्दिर हो । यस्तो गरिमामय ऐतिहासिक संस्थालाई विभिन्न खालका विकृति, विसङ्गति एवम् विरोधाभासवाट मुक्त पारी उच्चतम प्राज्ञिक यात्रामा गतिशील तुल्याउन विश्वविद्यालय परिवार कृतसङ्कल्प र एकजुट रहेको साथै यस दिशामा अग्रसर समेत रहेको तथ्य जानकारी गराउन चाहन्छौं ।’
‘नेपाल संस्कृत विश्वविद्यालय नेपाल राष्ट्रको गौरवपूर्ण शैक्षिक धरोहर हो र नेपाली संस्कृतिको संवाहक संस्था हो भन्ने कुरामा यस संस्थाका पदाधिकारीहरू संवेदनशील र सचेत छन्,’ विज्ञप्तिमा भनिएको छ ।
‘उपर्युक्त पृष्ठभूमिमा यस विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल र कुलसचिव प्रा. माधव अधिकारीको नाम उल्लेख
गरी अनेरास्ववियू (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले मिति २०८२ पौष ६ गतेको विज्ञप्तिमार्फत लगाएका सबै आरोपहरू नितान्त कपोलकल्पित, प्रमाणहीन र अयथार्थ रहेको ब्यहोरा पनि यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
‘हामी सम्बद्ध सबै पक्षलाई कुनै पूर्वाग्रह, मिथ्या सूचना र स्वार्थी तत्वले उपलब्ध गराएका स्रोतमा भर नपरी सत्य र सही सूचनाका आधारमा विश्वविद्यालय र यसका पदाधिकारीका बारेमा धारणा निर्माण गर्न साथै प्राज्ञिक संस्थाको प्राज्ञिक मूल्य र मर्यादा कायम राख्ने कार्यमा सहयोगी भूमिका खेलिदिन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संस्कृत विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट हरेक समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त रहँदै आएको र विगतमा पनि वार्ता तथा संवादबाटै अनेकौं जटिल समस्याहरूलाई निराकरण गर्दै आएको तथ्यतर्फ यसै विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया