पत्रकारहरूले तथ्यमा आधिरित सूचना प्रवाह गरी गलत सूचनाबाट जोगाउनु पर्छ : विपुल पोख्रेल

रामपुर । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेलले नागरिकलाई गलत सूचनाबाट जोगाउनका लागि पत्रकारहरू थप जिम्मेवार हुनपर्ने बताएका छन् ।

सोमबार पाल्पाको रामपुरमा आयोजित कार्यक्रममा ईन्टरनेटको विकाससँगै सञ्चारका माध्यमहरूको उपस्थिति बढेको भएपनि ती माध्यमबाट पत्रकारिता भैरहेको छ कि छैन भन्ने विषयमा भने गम्भीर प्रश्न उठिरहेको उनले बताए । ‘माध्यमहरूको उपलब्धता स्वागतयोग्य छ । ती माध्यमबाट पत्रकारिताका आधारभूत मान्यतामा आधारित भएर सामग्री प्रवाह भैरहेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने, ‘यस्तो बेलामा पत्रकारहरूले सही र तथ्यमा आधिरित सूचना प्रवाह गरी नागरिकलाई गलत सूचनाबाट जोगाउनु पर्छ ।’

पत्रकार महासंघका सल्लाहकार समेत रहेका पोख्रेलले मिडिया साक्षरताको अभियान आवश्यक भएको पनि बताए । ‘समाचार के हो ? पत्रकारिता कसरी गरिन्छ ? भन्ने कुरा पनि सञ्चारका उपभोक्ताहरूलाई पनि थाहा हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पत्रकारहरूको संस्थाले मिडिया साक्षरताको अभियान नै सञ्चालन गर्नुपर्छ ।’

उनले सीमित स्रोतसाधनका बीचमा पनि नेपालका दुर्गमस्थानका पत्रकारहरूले नेपाली पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका छन् । ‘पत्रकारिता कर्म जति व्यबस्थित हुन्छ, समाजमा त्यति नै अन्तरक्रिया हुन्छ,’ उनले भने, ‘समाजलाई अन्तरक्रियात्मक बनाउँदै लोकतन्त्रलाई मजबुद गराउने कुरामा नेपालका दुर्गम भेगका पत्रकारले समेत महत्वपूर्ण भूमिका खेलेका छन् ।’

Published : Tuesday, 2025 December 23, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया