एमसीसी अन्तर्गत सडक मर्मतका लागि कुल २३.६६ मिलियन अमेरिकी डलरका २ सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने नेपालका लागि अमेरिकी राजदूतावासले जनाएको छ । सम्झौताले दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याउने जनाइएको छ ।

सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।

उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, अमेरिकन राजदूत थम्पसन, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बिष्ट, एमसीसीका उपदेश निर्देशक सञ्जय पौड्याल तथा एमसीए–नेपाल बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो ।

राजदूत थम्पसनले यस उपलब्धिमा संलग्न सबैलाई बधाई दिँदै यो परियोजना एउटा मात्र लगानी नभई अझ धेरै अर्थ राख्ने रहेको उल्लेख गरेका छन् । उनले यसले अमेरिका–नेपाल साझेदारीको मजबुती, एमसीसी नेपाल कम्प्याक्टको निरन्तर प्रगति, र नेपाली जनता तथा नेपालमा रहेका अमेरिकी व्यवसायका लागि समयमै देखिने र व्यवहारिक परिणामहरू सुनिश्चित गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए ।

Published : Monday, 2025 December 22, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया