राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट, वडाध्यक्ष चौधरीसहित ९ जनाविरुद्धको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला

घोराही । दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ४ का वडाध्यक्ष वीरबहादुर चौधरीसमेत ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ ।

पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट, वडाध्यक्ष चौधरी समेत ९ जनाविरुद्ध ‘बिनाईजाजत प्रमाण बेगर सडक क्षेत्राधिकारभित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको हो ।

फैसला तथा अन्तिम आदेशअनुसार आंशिक अभियोग दाबी पुग्ने भनिएको छ । फैसलाको पूर्णपाठ आएको छैन । गाउँपालिकाका अध्यक्ष विष्टसहितका ९ जनालाई के कस्तो दण्ड जरिवाना वा सजाय भएको हो पूर्णपाठमा खुल्नेछ । फैसलामा केहीलाई कैद र जरिवाना समेत भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, दाङका जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेलले अदालतबाट आंशिक अभियोग दाबी पुग्ने फैसला भएको जानकारी दिँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहितका ९ जनाबारे के कस्तो आदेश र फैसला भएको हो सोबारे पूर्णपाठ हेरेर जानकारी दिने बताए ।

२०८० मंसिर १० डिभिजन वन कार्यालय, लमही, देउखुरी, दाङका स.ब.अ. छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्टसहितको समूहले भालुबाङदेखि मौरीघाटसम्म पूर्वपश्चिम महेन्द्र राजमार्गको दायाँ र बायाँ रहेका रुखहरू बिना अनुमति काटेर ओसारपसार गरेका थिए । सो कार्यको विरुद्धमा उनीहरूलाई हदैसम्मको कारबाही माग राखेर दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टसहितको ९ जनाको समूहले राजमार्गको दायाँ र बायाँ रहेका रुख कटान गरेपछि सो क्षेत्र उजाड बनेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टबारे विभिन्न आरोप र काण्डहरू बाहिर आइरहेका बेला बिना अनुमति रुख कटान गरी ओसार पसारको मुद्दामा आंशिक अभियोग दाबी पुगेको अदालतको फैसला आएको छ ।

Published : Sunday, 2025 December 21, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया