गगनको नाममा अमरसिंह एण्ड प्रालिको लुम्बिनीमा आतंक, अर्बपति व्यापारीलाई एकल सिफारिस
बुटवल । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफ्नो आलोचना गर्ने र राजनीतिक रुपमा खतरा महसुस गरेका नेता तथा कार्यकर्ताहरूमाथि निरन्तर धावा बोलिरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी नेताहरूको नाम सिफारिस गर्ने विषयमा सभापति पुनले सिधै हस्तक्षेप गरेर आफ्नो आलोचना गर्ने नेताहरूलाई भित्तामा पुर्याउने कार्य गरेका छन् । त्यसको सबैभन्दा ठूलो उदाहरण नवलपरासी कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनाल भएका छन् ।
खनाललाई कांग्रेसको केन्द्रीय अनुशासन समिति एक वर्षका लागि निलम्बन गरेको छ । तर, निलम्बन गर्यो भन्दैमा सबै कुराबाट खनाललाई बञ्चित गर्न पाइँदैन । सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र पदाधिकारीहरूको शनिबार काठमाडौंमा बसेको बैठकले समेत अनुशासनको कारबाही फिर्ता लिने सहमति गरिसकेको छ । खनाल कारबाहीमा परेका छन् भने पनि उनको कारबाहीलाई जनाएर केन्द्रमा सिफारिस गर्नुपर्ने हुन्छ । क्षेत्र र जिल्लाको सर्वसम्मत निर्णयलाई सभापति पुनले आफ्नो तजबिजीमा काट्न पाइँदैन भन्ने माग नवलपरासी कांग्रेसका नेताहरूको छ । खनाल वा अर्बपति विनोद चौधरीमध्ये एकजनाले टिकट पाउने हो । टिकट नपाउँदै खनालको राजनीति समाप्त बनाउने कार्य भएको छ ।
नेपाली कांग्रेस, नवलपरासी क्षेत्र नं. १ र जिल्ला कार्यसमितिले नेता खनाल र चौधरीको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेर पठाएका छन् । क्षेत्र र जिल्लाले नाम सर्वसम्मत गरेर पठाएपछि लुम्बिनी कांग्रेसका सभापति पुनले खनाल कारबाहीमा परेको भन्दै खनालको नाम हटाएर चौधरीको मात्र केन्द्रमा सिफारिस गरेका छन् ।
लुम्बिनी कांग्रेसका सभापति पुनले खनाल कारबाहीमा परेका छन् भने पनि कैफियतमा जनाएर पठाउनु पर्ने थियो । जिल्ला र क्षेत्रबाट सर्वसम्मत सिफारिस आएको खनालको नामलाई पुन आफैले काटेर पठाउनु भनेको लोकतान्त्रिक पार्टीको विधिन, पद्धित र अनुशासन विपरितको कार्य भएको नवलपरासी कांग्रेसका नेताहरूले बताएका छन् ।
महामन्त्री गगन थापाको नाममा लुम्बिनी कांग्रेसका सभापति पुनले लुम्बिनीका १२ जिल्लामा निकै आतंक मच्चाएका छन् । थापा सभापति नबन्दै त अमरसिंह पुन एण्ड कम्पनीको यति ठूलो आतंक लुम्बिनी प्रदेशमा छ । भोलिका दिनमा थापा सभापति भए भने अमरसिंह पुनहरूको दादागिरी र आतंक कुन हदसम्ममा पुग्ने हो प्रश्न उठेको छ ।
अर्बपति चौधरीले महामन्त्री थापा र लुम्बिनी कांग्रेसका सभापति पुनलाई प्रभावमा पारेर नवलपरासी क्षेत्र नं. १ मा आफ्नो नाम एकलरुपमा केन्द्रमा पठाउन सफल भएका छन् । खनालको नाम काटेर चौधरीको नाम पठाउने कार्यले महामन्त्री थापा र सभापति पुन पैसावाल व्यापारीका पछाडि लागेको कुरा प्रष्ट भएको छ ।
कांग्रेसको संगठन बचाउन गाउँघरमा पुगेर काम गर्ने नेता कार्यकर्ताको भावना विपरित कार्य गर्दा त्यसको सन्देश कस्तो हुने हो नवलपरासी कांग्रेसले थापा र पुनसँग प्रश्न उठाएको छ ।
अर्बपति चौधरी नवलपरासी क्षेत्र नं. १ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । यस पटक चौधरी विजयी हुने सम्भावना निकै कम छ । पैसा र पावरको भरमा अघिल्लो पटक टिकट पाए पनि चौधरीले देखाउने प्रलोभनमा यस पटक कांग्रेसका नेता, कार्यकर्ता र मतदाताहरू पर्नेवाला छैनन् ।
उता, लुम्बिनी कांग्रेसका सभापति पुनले कविलस्तु कांग्रेसमा देखिएको विवादको पनि समस्या समाधान गरेका छैनन् । कपिलवस्तु क्षेत्र नं. ३ मा तत्कालीन समयमा उखु किसानलाई भुक्तानी नदिएर फरार भएका वीरेन्द्र कनौडियालाई प्रतिनिधिसभाको टिकटमा एकल सिफारिस गरेर केन्द्रमा पठाएका छन् ।
कपिलवस्तु क्षेत्र नं. ३ मा कनौडियालाई टिकटका लागि एकल सिफारिस गर्न सभापति पुनले क्षेत्रीय सभापति र जिल्ला सभापति तथा पूर्वमन्त्री सुरेन्द्र आचार्यलाई निर्देशन दिएका थिए । कपिलवस्तु क्षेत्र नं. ३ मा युवा नेता अभिषेकप्रताप शाह पनि आकांक्षी छन् । शाहको नाम अमरसिंह पुन एण्ड कम्पनीले काटेर केन्द्रमा पठाएको छ । नेता शाहको उजुरीलाई लुम्बिनी प्रदेश कार्यसमितिले सुनुवाई समेत गरेको छैन ।
सुगर मिल चलाउँदा तत्कालीन समयमा कनौडियालाई उखु किसानलाई भुक्तानी दिएका थिएनन् । किसानहरू रकम माग गरेर काठमाडौंको माइतीघर मण्डलामा पुगेर धर्ना समेत बसेका थिए । त्यसपछि सभापति शेरबहादुर देउवाले कनौडियालाई बोलाएर साफसँग झापरेर उखु किसानको भुक्तानी तत्काल दिन निर्देशन दिएका थिए । त्यसपछि नाकमुख नदेखाएका कनौडिया एकाएक सुरेन्द्र आचार्य र अमरसिंह पुनको पुच्छर समातेर टिकटमा एकल सिफारिस हुन पुगेका छन् । कनौडियाले टिकट पाए भने कपिलवस्तु ३ मा पराजित हुने पक्का छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया