दलका नेता र पूर्वप्रधानमन्त्रीहरूलाई काठमाडौं बाहिर जान नदिनु सरकारको दोहोरो चरित्र : डा.कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
शनिबार विराटनगर महानगरपालिका वडा नं. ६ सरौचियामा आयोजित नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेस निर्वाचनबाट भाग्न खोजेको नभई अझै जिम्मेवार ढंगले निर्वाचनमा सहभागी हुन चाहेको बताए ।
‘कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । हामी निर्वाचनमा जान्छौं,’ डा.कोइरालाले भने, ‘सरकारले न्यूनतम शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । अहिलेको अवस्था हेर्दा अझै पनि सार्पसुटरसहित जेलबाट ५ हजारभन्दा बढी कैदी फरार छन् । प्रहरीका हतियार लुटिएका छन् । यस्तो अवस्थामा निर्वाचन कसरी निष्पक्ष र शान्तिपूर्ण हुन्छ ? फरार कैदी पक्राउ गर्नु, लुटिएका हतियार बरामद गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । सरकार त्यो दिशामा गम्भीर देखिँदैन ।’
नेता डा.कोइरालाले सरकारको दोहोरो चरित्रप्रति प्रश्न उठाएका छन् । ‘एकातिर राजनीतिक दलका नेता, यहाँसम्म कि पूर्वप्रधानमन्त्रीहरूलाई समेत काठमाडौं बाहिर जान नदिने, अर्कोतर्फ सरकारले निर्वाचन गराउँछु भनेर दाबी गर्ने अवस्था आफैंमा विरोधाभासपूर्ण रहेको छ,’ उनले भने ।
‘यस्तो अवस्थामा सरकारले कस्तो निर्वाचन गराउन खोजेको हो ?,’ उनले प्रश्न गर्दै भने, ‘विगतमा जस्तै सबै राजनीतिक दलहरूको सहभागितामा निर्वाचन हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको छ ।’
नेता डा.कोइरालाले कांग्रेस निर्वाचनप्रति सकारात्मक रहेको र लोकतान्त्रिक अभ्यासबाट कहिल्यै पछि नहट्ने पार्टी भएको बताएका छन् ।
नेता डा.कोइरालाले भदौ २३ र २४ गते भएका तथाकथित जेनजी आन्दोलनका घटनालाई पनि छुट्टाछुट्टै रूपमा मूल्यांकन गर्नुपर्ने बताए ।
‘भदौ २३ गतेको घटना अत्यन्तै घृणित र निन्दनीय थियो, जसलाई कुनै पनि बहानामा माफी दिन सकिँदैन,’ उनले भने, ‘त्यसपछि भदौ २४ गते भएको घटनालाई पनि गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको छ ।’
उनले भने, ‘सरकार र जेनजी पक्षले दुवै घटनालाई अलग–अलग रूपमा हेर्नुपर्छ भनेको भए पनि दुवै घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ ।’
विशेष गरी २४ गतेको घटना मुलुकका लागि अत्यन्त दुर्भाग्यपूर्ण भएको भन्दै डा.कोइरालाले त्यसले समाजमा नकारात्मक सन्देश दिएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया