फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि
काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ ।
नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेबाट लागू भइसकेको छ । सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाले चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताए ।
‘सेन्सर बोर्डका प्रक्रियागत जटिलताहरूलाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’ उनले भने, ‘सेन्सरमाथि प्रश्नचिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने प्रयास हो ।’
नयाँ कार्यविधिले फिल्मकर्मीलाई फिल्म सेन्सरमा निकै सहज हुने उनले बताए । ‘यो कार्यविधिको मुख्य उद्देश्य सेन्सर बोर्डलाई व्यवस्थित गर्नु र चलचित्रकर्मीलाई सहजता प्रदान गर्नु हो,’ रानामगरले भने ।
बोर्डले ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ मा बैठकसम्बन्धी केही विषय परिमार्जन गरिएको छ । बैठकसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४ मा उपदफा (३) को रुपमा चलचित्र जाँच गर्दा विज्ञ सदस्यको पदावधि सकिएको र नयाँ नियुक्त नभएको अवस्थामा चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले तयार गरेको रोस्टरबाट चलचित्र विज्ञ सदस्य आमन्त्रित गरी सेन्सर गर्न सक्ने व्यवस्था गरिएको छ । यसले फिल्म सेन्सरमा विज्ञको उपस्थिति हुनुपर्ने मागलाई सम्बोधन गरेको छ ।
बोडले कार्यविधिको बुँदा नम्बर ४ को ‘इजाजत माग गर्दा र समितिबाट जाँच गर्दा लिइने आधार’मा भने पुरानो कार्यविधिका २० बुँदा ८ बुँदा घटाएर १२ बुँदा बनाएको छ । बिभिन्न झन्झटिलो र संबिधानले संसोधन गरिसकेको बुँदा अहिले हटाइएका हुन् । पशुपंक्षीमाथि गरिएको अनावश्यक निर्दयीपूर्ण जघन्य हिंसा, अश्लीलता वा अस्वाभाविक यौनजन्य क्रियाकलाप, मानव अधिकारको संरक्षण र सम्वर्द्धन, चलचित्रको दृश्य तथा सम्वादको मनसाय लगायत धेरै बुँदामा परिमार्जन समेत गरेको हो ।
बोर्डले फिल्मकर्मीलाई फिल्म सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिको समेत विकास गरेको छ । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो फिल्ममा सेन्सरबाट देखिने त्रुटि आफैंले पत्ता लगाउन सक्नेछन् । सेल्फ सेन्सर अन्तर्गत रहेर चलचित्रकर्मीले आफ्नो फिल्म बुझाउँदा फिल्म सेन्सर सहज हुने र चलचित्रकर्मीले व्यहोर्नुपर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत हुने बोर्डका अध्यक्ष मगरले बताए ।
‘सेल्फ सेन्सर चलचित्रकर्मीलाई आफ्नो फिल्मको त्रुटि आफैंले पत्ता लगाएर करेक्सन गर्ने एउटा प्रणालीको रुपमा हामीले लिएका छौं,’ उनले भने, ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाबाट मुक्त गर्छ ।’ सेल्फ सेन्सरले चलचित्रकर्मीलाई सेन्सर प्रमाणपत्र लिन समेत सजिलो हुने रानाको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया