गगन नेतृत्वको समितिले काम गर्न नसकेका बेला छलफलमा बोलाए सभापति देउवाले पदाधिकारीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा १५औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यबाहक सभापति, उपसभापति र दुई महामन्त्रीलाई बोलाएका छन् ।

सभापति देउवाले भोलि शनिबार बिहान ०९ः०० बजे काठमाडौंको महाराजगञ्जस्थित निवासमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन् । स्रोतका अनुसार सभापति देउवाले महाधिवेशनको तयारीका विषयमा के भइरहेको छ ? भन्ने विषयमा जानकारी लिनका लागि पदाधिकारीहरूलाई बोलाएका हुन् ।

सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका विषयमा उम्मेदवार बनाउनेबारे पनि पदाधिकारीहरूसँग छलफल गर्नेछन् । देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र रणनीतिका विषयमा पनि छलफल गर्नेछन् ।

सभापति देउवासँगको बैठकमा कार्यबाहक सभापति समेत रहेका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तगा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका छन् ।

कांग्रेसले पुसको २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले तोकिएको समयमा काम गर्न सकेको छैन । महामन्त्री थापाका कारण महाधिवेशनको तयारीमा ढिलाइ भइरहेका बेला सभापति देउवाले चार पदाधिकारीलाई बोलाएका छन् ।

Published : Friday, 2025 December 19, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया