तनहुँ कांग्रेसको नेता वाग्लेको निधन, केन्द्रीय कार्यालयद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । प्रजातन्त्र सेनानी ९२ वर्षीय विष्णुप्रसाद वाग्लेको निधन भएकोमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
तनहुँको ब्यास नगरपालिका वडा नं. ५ पतेनिटार निवासी वाग्लेको २०८२ पौष १ गते निधन भएको कांग्रेसले जनाएको छ ।
वाग्लेले २००७ सालको जनक्रान्तिमा निरंकुश राणा शासनबिरूद्ध संघर्ष गरेका थिए । बन्दिपुरमा भएको संघर्ष देखि लोकतन्त्र स्थापना र पुनर्स्थापनाका लागि वाग्ले जीवनभर समर्पित भएका थिए ।
वाग्ले २०११ सालको तिरो बन्दी आन्दोलन, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०१८ को सशस्त्र क्रान्ति, २०२८ को संघर्ष र जनमत संग्रहमा सक्रिय रहेका थिए ।
२०१८ सालमा चितवनको भरतपुर मुक्ति सेनाले कब्जा गरेपछि वाग्लेलाई तत्कालीन सरकारले गिरफ्तार गरेको थियो । वाग्लेको जग्गा जमीन समेत हडप गरेको थियो ।
नेपाली कांग्रेसमा आजीवन समर्पित वाग्ले स्व.नेता गोवर्द्धन शर्माका अनन्य मित्र हुन् । वाग्ले ‘गोबर्द्धन शर्मा स्मृति कोष’ र नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँको अध्यक्ष रहेका थिए ।
वाग्लेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गरेका छन् ।
वाग्लेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट कार्यबाहक सभापति खड्काले गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया