सिन्धुपाल्चोक १ बाट कांग्रेस नेता मोहन बस्नेत सर्वसम्मत एकल सिफारिस

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई एकल सिफारिस गरेको छ ।

बुधबार बसेको क्षेत्रीय कार्यसमितिले नेता बस्नेतलाई प्रत्यक्षतर्फ एकल सिफारिस गरेर पठाउने सर्वसम्मत निर्णय गरिएको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताएका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ डा.प्रेमध्वज लामा र दोर्जे लामा तथा महिला समानुपातिकतर्फ यस्मिन ढुङ्गनालाई सिफारिस गरिएको सभापति बस्नेतले बताए । राष्ट्रिय सभातर्फ भोला बोहरा र जंगबहादुर लामालाई सिफारिस गरिएको छ ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा बसेको बैठकमा सिन्धुपाल्चोक १ का अगुवा नेता तथा कार्यकर्ता र युवाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 December 17, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया