अर्थमन्त्री खनाल र कांग्रेस नेता खतिवडाबीच भेट, ओखलढुङ्गाको योजनाहरू कटौती नगरिदिन आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद रामहरि खतिवडाबीच भेट भएको छ ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा खनाल र खतिवडाबीच ओखलढुङ्गा जिल्लाका विकास आयोजना लगायतका विषयमा कुराकानी भएको हो । कांग्रेस नेता खतिवडाले अर्थमन्त्री खनालसँग ओखलढुङ्गा जिल्लाका प्रस्तावित कुनै पनि विकास योजनाहरू कटौती नगर्न आग्रह गरेका छन् ।

नेता खतिवडाले अर्थमन्त्री खनालसँग भने, ‘ओखलढुङ्गा पहाडी जिल्ला हो । धेरै गाउँहरूमा अहिले पनि विकासको पूर्वाधार पुगेको छैन । मैले विशेष अनुरोध गरेर गत वर्षहरूमा विभिन्न योजना, कार्यक्रम र बजेट लगेको छु । कटौती नगरिदिन अर्थमन्त्री रामेश्वर खनालसँग आग्रह गरेको छु । अर्थमन्त्रीज्यूले पनि मेरो आग्रहलाई सकारात्मक रुपमा लिइदिनुभएको छ ।’

कांग्रेस नेता खतिवडाले साघुटार–घोराखरी–ओखलढुङ्गाको श्रोत सुनिस्चित गर्न, काटारी–घुर्मी सडक स्तरोन्नति ठेक्का प्रकिया अगाडि बढाउन, मन्त्रिस्तरीय निर्णय भैसकेको ईलाका प्रशासन कार्यालय, घोराखरीको निर्माण प्रकिया अगाडि बढाउन अर्थमन्त्री खनालसँग आग्रह गरेका छन् ।

घुर्मी–चटरा सडक निर्माण र जिल्लाको समग्र विकास, जनताको आवश्यकतासँग जोडिएका पूर्वाधार, सडक, पुल, शिक्षा र स्वास्थ्यसम्बन्धी योजनाहरूको महत्वबारे पनि खतिवडाले अर्थमन्त्री खनाललाई जानकारी गराएका छन् ।

खतिवडाले राजनीतिक अस्थिरताका कारण विकास रोकिन नहुने विषयमा अर्थमन्त्री खनाललाई सुझाव दिएका छन् । नेता खतिवडाले ओखलढुङ्गाका योजनाहरूले निरन्तरता पाउनुपर्ने धारणा राखेका छन् ।

Published : Tuesday, 2025 December 16, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया