गगनका घरबेटीको नाम २ नम्बरमा सिफारिस, कास्की कांग्रेसभित्र खैलाबैला, जिल परे सिनियरहरू

पोखरा । नेपाली कांग्रेस, कास्की क्षेत्र नं. १ कार्यसमितिले महामन्त्री गगन थापाका घरबेटीलाई प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फको उम्मेदवारका लागि दोस्रो नम्बरमा नाम राखेर सिफारिस गरेको छ ।

आइतबार नेपाली कांग्रेस, गण्डकी प्रदेश कार्यसमिति, पोखराका सभापति शुक्रराज शर्मालाई लेखिएको पत्रमा प्रत्यक्षतर्फको उम्मेदवारको सूचीमा दोस्रो नम्बरमा तिलकबहादुर रानाभाटको नाम राखिएको छ । रानाभाट वैदेशिक रोजगार व्यवसायी हुन् ।

व्यवसायी रानाभाटले काठमाडौंको अनामनगरमा आफ्नो सात तलाको भवनमा सबैभन्दा माथिको फल्याटलाई निःशुल्क रुपमा सम्पर्क कार्यालय बनाइ चलाउन दिएका छन् । बिगत ३/४ वर्षदेखि रानाभाटले दिएको घरमा महामन्त्री थापाले सम्पर्क कार्यालय खोलेर गतिविधि गर्दै आएका छन् ।

नेपाली कांग्रेस, कास्की, क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिका सभापति राजेन्द्रमणि लामिछानेले महामन्त्री थापाका घरबेटीको नामलाई निकै प्राथमिकतामा राखेर सिफारिस गरेका छन् ।

क्षेत्रीय सभापति लामिछानेले नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सह–महामन्त्री जीवन परियारको नाम तेस्रो नम्बरमा राखेका छन् । केन्द्रीय सदस्य गुरु बरालको नाम पनि ४ नम्बरमा राखिएको छ ।

महामन्त्री थापालाई सम्पर्क कार्यालय निःशुल्क रुपमा सञ्चालन गर्न दिएको गुन तिर्न महामन्त्री थापाको निर्देशनमा क्षेत्रीय सभापति लामिछानेले सिनियर र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू हुँदाहुँदै सबैभन्दा माथि २ नम्बरमा राखेर पठाएपछि कास्की कांग्रेसभित्र खैलाबैला भएको छ ।

Published : Tuesday, 2025 December 16, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया