पोखराको ८ अर्ब ३६ करोड भ्रष्टाचार काण्डले हलचल ल्याएका बेला मुनंकर्मी र उनकी पत्नीविरुद्ध मुद्दा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनंकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले मुनंकर्मीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुनंकर्मीले पदको दुरुपयोग गर्दै गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोप पत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले मुनंकर्मीविरुद्ध २ करोड ५० लाख ४३ हजार ५१७ रुपियाँ बिगो दाबी गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा मुनंकर्मीले सरकारी पदमा बहाल रहँदा पेश गरेको सम्पत्ति विवरणअनुसारको आम्दानीभन्दा खर्च अस्वाभाविक रूपमा बढी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

मनुंकर्मी २०५४ फागुन १ गते सरकारी सेवामा प्रवेश गरेका थिए । २०८० मंसिर १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको छ ।

सो अवधिमा मुनंकर्मी तथा उनका परिवारका सदस्यहरूको नाममा ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपियाँ बराबरको सम्पत्ति आर्जन भएको देखिएको छ । सोही अवधिमा ६ करोड २४ लाख १५ हजार ९ सय रुपियाँ खर्च भएको अख्तियारको ठहर छ ।

कुल आम्दानीभन्दा २ करोड ५० लाख ४३ हजार ५१७ रुपियाँ बढी खर्च देखिए पनि सो रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ ।

सरकारी सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट श्रीमती पूर्णकेशरी गोसाइको नाममा समेत सम्पत्ति खरिद गरिएको देखिएकाले अख्तियारले उनलाई पनि प्रतिवादी बनाएर आरोप पत्र दायर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । सोही भ्रष्टाचार काण्डमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवम् तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् ।

Published : Tuesday, 2025 December 16, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया