बागमती कांग्रेसमा महाधिवेशन र सिफारिस भएर आएका उम्मेदवारहरूका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश कार्यसमितिले पार्टीको आन्तरिक संगठन र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदावरहरूका विषयमा छलफल गरेको छ ।

आइतबार काठमाडौंमा बसेको कार्यसमितिको बैठकमा पार्टीको १५औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण तथा जिल्लाहरूबाट अगामी निर्वाचनको लागि सिफारिस भएर आएका नामहरू उपर छलफल भएको महामन्त्री राजु श्रेष्ठले बताएका छन् । उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएर आएका नामहरू, क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरण लगायतमा छलफल भएको छ,’ उनले भने, ‘छलफल जारी छ । निर्णय भइसकेको छैन । सबैको सुझावअनुसार निर्णय गर्नेछौँ ।’

बागमती प्रदेश कार्यसमितिको बैठकमा निर्वाचन अयोगले दलहरूलाई दिएको निर्देशन र पार्टीको केन्द्रीय कार्यलयले पठाएको परिपत्रलाई पनि मध्यनजर राखेर निर्णय हुने उनले बताए ।

बागमती प्रदेश कार्यसमितिको बैठक आज सोमबार काठमाडौंमा पुनः बस्नेछ । बैठकमा समग्र विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सबैको सरसल्लाह, सुझावअनुसार निर्णय गरेर जानुपर्ने बताएका छन् ।

Published : Monday, 2025 December 15, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया