एनआरएनएको १२औं महाधिवेशन फेब्रुअरीमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ ।
एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको छ ।
महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
बैठकले राष्ट्रिय समन्वय समितिहरू (एनसीसी)को एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी गठन गरेको छ ।
कटिीमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् । सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
बृहत् एकताको सन्देश प्रवाह गर्न र महाधिवेशनको तयारीस्वरूप विभिन्न क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने निर्णय भएको महासचिव लामाले जानकारी दिएका छन् ।
डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्रमा र डिसेम्बर २१मा अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम आयोजना हुनेछ ।
बैठकले स्टेरिङ कमिटीले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागू गर्ने निर्णय गर्दै कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक बस्नु अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समय सिमा पनि तोकेको छ । हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागिता जनाउन नदिने निर्णय पनि गरिएको छ ।
सदस्यता समितिमा २ जना सदस्य थप गरी ७ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी थाल्न विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपील गरेको छ ।
मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया